धरान । सुनसरीको धरानमा मंगलबार राति थप १११ जनामा कोरोना संक्रमण देखिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार साँझ र राति आएको रिपोर्टमा १११ जनामा संक्रमण देखिएको धरान उपमहानगरपालिकाले जनाएको छ ।

धरान १७ को एन्फा क्वारेनटाइनमा स्वाब लिएका र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब लिइएकाहरुको रिपोर्ट आएको हो । कोरोना सङ्क्रमित हुनेहरूमा दुई जना वडाध्यक्ष, २० नम्बर वडा कार्यालयका एक जना कर्मचारी, ३ नम्बर वडाका एक कर्मचारी, धरान उपमहानगरपालिकाको शिक्षा शाखाका एक सहित २ जना कर्मचारी र धरानका एक जना सञ्चारकर्मीसमेत छन् ।

धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार योसँगै धरानमा कुल संक्रमितहरुको संख्या ७९८ पुगेको छ । लकडाउन खुलेसँगै धरान कोरोना सङ्क्रमण तीव्र गतिमा भइरहेको छ । अहिलेसम्म धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको सङ्ख्या १० पुगेको छ ।