विर्तामोड । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा मृत्यु भएका दुई महिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोना पुष्टि भएको हो।
भद्रपुर –८ का मृतक शिशुमा संक्रमण पुष्टि भएपछि उनको घर आसपास तथा छरछिमेकमा त्रास बढेको छ। शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।
शिशुमा कोरोनाको लक्षण देखा परेपछि दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो। स्वाब लिएको ६ घण्टाभित्रै शिशुको उपचारको क्रममा मृत्यु अस्पताल प्रशासनले जनाएको छ। भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठसहित नगरपालिकाको स्वास्थ्य शाखाका टोली शिशुको घर पुगेर बुधवार दाहसंस्कार गर्ने तयारी गरेका थिए।
संक्रमित शिशुको शवलाई उनका परिवारका सदस्यसहित छरछिमेकले छोएको जानकारी आएकाले त्यहाँ स्वाब सङ्कलनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

