धरान । विरामीको पैसा र अन्य सामान चोरी गरेको आरोपमा वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सुरक्षा गार्ड पक्राउ परेका छन् ।
प्रतिष्ठानमा उपचारार्थ आउने बिरामी र तिनका आफन्तहरुले मोवाइल, पर्स, सुनचाँदी जस्ता महत्वपूर्ण सरसामान हराउने गरेको गुनासो आइरहेको बेला सुरक्षा गार्ड पक्राउ परेका हुन् ।
प्रतिष्ठानको सुरक्षाको जिम्मा लिएको भिआइपी सेक्यूरिटी सर्भिसेजले पीडितहरुको समस्या समाधान गर्न चासो नदिइरहेको बेला प्रतिष्ठानको सर्जरी युनिट ३ की एक महिला बिरामीको कुरुवाको ५० हजार रुपैयाँ चोरी गरेको आरोपमा सुरक्षागार्ड पक्राउ परेका हुन् ।
चोरी गरेको अभियोगमा धरान ११ शिबजी चौकका ३६ वर्षीय सुरज श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । श्रेष्ठले प्रतिष्ठानको सर्जरी युनिट ३ की दिलकुमारी राईको पर्सबाट नगद ४९ हजार रुपैयाँ चोरी गरेका थिए । बिरामी तथा कुरुवाहरु निदाइरहेको बेला पर्स चोरी गरेको विरामीका कुरुवाले बताएका छन् ।
एक कुरुवाले ट्वाइलेटमा गएर पैसा निकालेर पर्स स्टोरमा फ्यालेको देखेपछि घटना बाहिर आएको हो । श्रेष्ठको साथबाट नगद १० हजार बरामद भएको इलाका प्रहरी कार्यालयका हेमराज ओलीले जानकारीले दिनुभयो । ठेक्कामार्फत वीपी प्रतिष्ठानको सुरक्षाको जिम्मा लिएको कम्पनीले भने यसबारे कुनै प्रतिक्रिया दिएकौ छैन ।
भिआइपी सेक्यूरिटीका कतिपय सुरक्षा गार्डहरु दिउँसै मादक पदार्थ सेवन गरेर आउने गरेको विरामीले बताउँदै आएका छन् । यस्तै उपचारार्थ आउने विरामी र तिनका आफन्तलाई दुव्र्यहार गर्ने गुनासो पनि छ ।

