विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा गुणस्तरीय शिशु स्याहारका लागि ‘सुसार’ कार्यक्रम सुरु भएको छ । मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउन ‘सुसार’ कार्यक्रम सोमबारदेखि सञ्चालन भएको हो ।
गुणस्तरीय सेवा सुधारअन्तर्गत अस्पतालको विद्यमान मातृ तथा शिशु स्याहार सेवालाई ज्ञान, शीप तथा प्रविधिहरु प्रयोगमा ल्याई नवजात शिशुको मृत्युदरमा कमी ल्याउने उद्देश्यले कार्यक्रम सुरू गरिएको सञ्चारविज्ञ सिर्जना शर्माले जानकारी दिनुभयो ।
अस्पताल अन्तर्गतका मातृ तथा नवजात शिशु स्याहार वार्डहरुमा गुणस्तर सुधारका लागि चाहिने शीप र प्रविधि प्रयोगमा ल्याई प्रसुति समयको जटिलतालाई गुणस्तरीय व्यवस्थापन गर्न कार्यक्रमले सहयोग पु¥याउने बताइएको छ । सुसार कार्यक्रम प्रदेश १ को कोशी अस्पतालमा मात्र कार्यक्रम शुभराम्भ भएको गोल्डेन कम्युनिटीका कार्यक्रम प्रबन्धक रेजिना गुरूङले बताउनुभयो ।
‘प्रारम्भिक चरणमा यो कार्यक्रम दुई वर्षको लागि सञ्चालनमा आएको छ,’ गुरुङले भन्नुभयो, ‘नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउन र मातृ शिशुको मृत्युदर घटना ठूलो सहयोग पु¥याउँछ ।’प्रसुति सेवालाई प्रभावकारी ढंगले निगरानी गर्न, सेवा प्रदान गर्न तथा समयमै उचित निर्णय लिन सुसार कार्यक्रमले स्वास्थ्यकर्मीलाई सशक्त बनाउने उहाँको दावी छ ।
नेपालमा हरेक वर्ष ६ लाख बच्चा जन्मने गरेकोमा ११ हजार मृत अवस्थामा जन्मने र करिब १३ हजारको जन्मेको एक महिना नपुग्दै मृत्यु हुने गरेको बताइएको छ । करिब १७ प्रतिशत शिशु जन्मेको पहिलो घन्टामा, ५७ प्रतिशत शिशु जन्मेको पहिलो दिनमा र ७९ प्रतिशत जन्मेको पहिलो हप्तामा मर्ने गर्छन् ।
नवजात शिशु मृत्युको कारणमध्ये महिना नपुगी जन्मनु (३१ प्रतिशत) जन्मनासाथ श्वास फेर्न नसक्नु (२३ प्रतिशत) तथा संक्रमण हुनु (१९ प्रतिशत) प्रमुख रहेको संस्थाले जनाएको छ । सरकारले हाल रहेको नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई सन् २०३० सम्ममा प्रतिहजार जीवित जन्ममा १२ र मृत जन्मने शिशुको दर प्रतिहजार जन्मलाई १३ मा घटाउने लक्ष्य अघि सारेकोे छ ।
कार्यक्रमले प्रसुति सेवालाई प्रभावकारी ढंगले निगरानी गर्न, सेवा प्रदान गर्न तथा समयमा नै उचित निर्णय लिन स्वास्थ्यकर्मीलाई सशक्त बनाउने कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारयण यादवले बताउनुभयो । कार्यक्रमले गुणस्तरीय सेवा सुधारमा अस्पतालमा थप सुधारका लागि सहयोगी बन्ने उहाँको भनाइ छ ।
कोशी अस्पतालमा गत वर्ष ८ हजार २ सय २२ जनाको प्रसुति भएकोमा १०१ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । सुसार कार्यक्रम ७ प्रदेशका ८ वटा सरकारी अस्पतालमा सञ्चालन भइरहेको छ । कोशी अस्पतालसहित जनकपुर अस्पताल, भरतपुर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, प्रदेश अस्पताल कर्णाली, सेती अस्पताल र डडेलधुरा अस्पतालमा यो कार्यक्रम सञ्चालन भइरहेको गोल्डेन कम्युनिटीले जनाएको छ ।