बेलबारी । विराटनगर स्थित नोबेल मेडिकल कलेजले कोरोना परीक्षणको पीसीआर रिपोर्ट २४ घन्टामा नै फरक–फरक दिएपछि विरामी अन्यौलमा परेका छन् ।

शुक्रवार नोबेलमा कोरोना परीक्षणको लागि स्वाब दिएका प्रहरी सहायक निरीक्षकको परीक्षामा सहभागी युवाको रिपोर्ट आइतवार पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि ती युवाले आइतवार पनि एक अभिभावकसहित सार्वजनिक नोबेल पुगेर पुनः स्वाब दिए । आइतबार दिएको स्वाबको नतिजा भने नोबेलले नेगेटिभ दिएको छ । नेगेटिभ नतिजा आएपछ िउनी सोमबार प्रहरी सहायक निरीक्षक (असइ) को परीक्षामा सामेल भएका छन् ।

नोवेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले दुईवटा फरक रिपोर्ट आएपछि सोमबार पुनः परीक्षणको लागि ती युवालाई बोलाएको बताउनुभयो । ल्यावका डाक्टरहरुसँग बुझदा ती युवा पहिले संक्रमित भएपनि कोरोनालाई जितेकोले यस्तो रिपोर्ट आएको बताएको उहाँको भनाइ छ ।

नोवेलले १ हजार ५ सय ५० रुपैयाँमा पीसीआर परीक्षण गर्ने प्रचार गरेको भएपनि ती युवाले २ हजार रुपैयाँ तिरेर परीक्षण गरेका थिए । स्वाब परीक्षणको अतिरिक्त स्वाब संकलन शुल्क भन्दै नोबेलले थप ४५० रुपैयाँ लिने गरेको छ । स्वाब संकलन गर्दा त्रुटी भएको अवस्थामा परीक्षणको रिपोर्ट फरक आउने विज्ञहरुले बताएका छन् ।