विराटनगर । मोरङको कटहरी गाउँपालिका २ स्थित ‘बाबा’ तेल उत्पादन गर्ने ‘बावा भेजिटेवल आयल इन्डष्ट्रिज प्रालिले तेस्रो मुलुकबाट आयात गरेर ल्याएको तेलको कच्चा पदार्थ बोकेको कन्टेनर विराटनगर–रंगेली सडक खण्डमा पल्टिएको छ ।
उद्योगको ३० टन कच्चा पदार्थ बोकेर ल्याएको कन्टेनर कटहरी गाउँपालिका २ स्थित उद्योगतर्फ मोड्न खोज्दा अनयन्त्रित भर्इ आइतबार पल्टिएको हो ।
कन्टेनर सडकमा पल्टिएपछि तेलको लागि आवश्यक पर्ने कच्चा पदार्थ पानी जमेको नालामा घोप्टिएको थियो । नालामा पोखिएको कच्चा पदार्थ उद्योगका कर्मचारीले दुई वटा ट्याङ्कर सडकमा राखेर पम्पसिटको माध्यमबाट उठाएका थिए । नालामा पोखिएको कच्चा पदार्थ दूषित भएकोले उद्योगमा लगेर मिसावट गर्नसक्ने आशंका गर्दै स्थानीयले प्रशासनलाई जानकारी गराएपछि ट्यांकर शिल गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र वार्णिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको टोली पुगेर दुषित पानीबाट उठाएको कच्चा पदार्थ राखिएको दुई वटा ट्याङकर शिल गरेको हो । घटनास्थलको मुचुल्का उठाएर दुषित भएको ठाउँबाट उठाएको कच्चा पदार्थ बोकेको दुईवटा ट्याङकर शिल गरिएको वार्णिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो ।
नालाको दुषित पानीबाट उठाएको कच्चा पदार्थ बोकेको को १ ख ७४२५ र नम्बर नखुलेको अर्को ट्याङ्कर शिल गरेर उद्योग परिसरभित्र राखिएको छ । ‘उद्योगका कर्मचारीले साबुन उद्योगमा प्रयोगको लागि कच्चा पदार्थको रुपमा नालाबाट घोप्टिएको तेल झिकेको बताएका छन्’ वाणिज्य कार्यालय प्रमुख पोखरेलले भन्नुभयो, ‘पानी जमेको ठाउँबाट झिकेको कच्चा पदार्थ साबुन उद्योगमा लगेर हाम्रै अगाडि प्रयोग गरेमा लान दिने, नत्र नष्ट गरिनेछ ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले तेलको लागि आएको कच्चा पदार्थ खानयोग्य हो या होइन आवश्यक परिक्षणको लागि नमुना संकलन गरि पठाएको छ । उद्योगका सञ्चालक प्रकाश मुन्दडाले तेल उत्पादनको लागि आएको कच्चा पदार्थ बोकेको कन्टेनर पल्टिएर दूषित पानीमा परेपछि त्यो पुनः प्रयोग गर्न नमिल्ने भएको बताउनुभयो ।
‘दूषित पानीमा तेल उत्पादन हुने कच्चा पदार्थ घोप्टिएपछि त्यो पुनः प्रयोग गर्न मिल्दैन,’ मुन्दडाले भन्नुभयो । साबुनको कच्चा पदार्थको रूपमा प्रयोग गर्न ट्याङ्करमा सो कच्चा पदार्थ उठाएको हुनसक्ने उहाँको भनाई छ ।