राज्यमन्त्री नै कालोबजारीमा : विनाअनुमति महंगोमा नुन बिक्री गरेको आरोप

विराटनगर । चाडवाड नजिकिएको बेला उद्योग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री मोदीलाल दुगडले नै कालोबजारी गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ ।

उपभोक्ता ठग्नेहरुलाई कार्वाही गर्ने मन्त्रालयको जिम्मेवारी लिएका मन्त्री नै कालोबजारीमा संलग्न भएपछि उपभोक्ता अधिकारकर्मीहरुले प्रधानमन्त्रीसँग गुहार मागेका हुन् ।

राज्यमन्त्री दुगडकै कम्पनीले एकपछि अर्को कालोबजारी गर्दै आएको उपभोक्ताको गुनासो छ । यसअघि नै भ्रष्टाचार, कमिशन, केही व्यापारिक घरानासँगको मिलेमतोमा करमा घटबढ गरेको विवादमा मुछिएका दुगडको अर्को बद्मासी बाहिर आएको हो ।

सेञ्चुरी साल्टका नाममा राज्यमन्त्री दुगढ सञ्चालक रहेको दुगड स्पाइस एण्ड फुडस प्रालिले स्वीकृति नै नलिइ प्याकेजिङ गरेर महंगोमा नुन बिक्री गरेको पाइएको छ । राष्ट्रिय उपभोक्ता मञ्चले उद्योग र मन्त्रीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयलाई पत्राचारसमेत गरेको छ ।

राज्यबाट स्वीकृति नलिइ उत्पादन बजारमा लगेको दुगडको उद्योगले २० रुपैयाँ प्रतिकेजी पर्ने नुनलाई प्रतिसय ग्राम ३२ रुपैयाँमा बिक्री गरिरहेको छ । उनको उद्योगले गैहकानूनी तथा ठगी धन्दा सञ्चालन गरेको भन्दै उनलाई हदैसम्मको कारबाहीमा गर्न उपभोक्ता मञ्चले माग गरेको छ । खाद्य तथा गुणस्तर विभागले उद्योगले उत्पादनको अनुज्ञापत्र नलिएको जानकारी मञ्चलाई दिएको छ ।

कालोबजारी तथा नाफाखोरीजन्य काम गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ र ३ बिपरित काम गरी उपभोक्तालाई चरम शोषण गर्ने काम मन्त्रीको उद्योगबाट भएको मञ्चले जनाएको छ । राज्यमन्त्री दुगडले कानूनको वेवास्ता गर्दै अनुचित क्रियाकलाप गरेको भन्दै मन्चले असोज १६ गते प्रधानमन्त्रीलाई पत्र लेखेको हो ।

नेपालमा आयोडिनयुक्त नुन सरकारको साल्ट ट्रेडिङ बाहेक अरुले बिक्री गर्न पाउँदैन । तर, उद्योग राज्यमन्त्रीले नै कानूनको धज्जी उडाएको उपभोक्ता अधिकारकर्मीहरुले बताएका छन् ।

मञ्चले अनुगमन, अध्ययन तथा तथ्यगत सूचनाको आधारमा खाद्य प्रबिधि तथा गुणनियन्त्रण बिभागमा पनि त्यसबारे २०७७ भदौ १२ गते उजुरी दिएको अध्यक्ष प्रेमलाल महर्जनले जानकारी दिनुभएको छ ।

आइतबार, १८ असोज, २०७७, साँझको ०६:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर