पर्यटन विकासमा सहकार्य आवश्यक : मन्त्री कुसियैत

विराटनगर । सेप्टेम्बर २७ तारिखमा मनाइने ४१ औं विश्व पर्यटन दिवस ‘पर्यटन र ग्रामिण विकास’ भन्ने नाराका साथ मनाइदैछ ।

पर्यटन दिवसको अवसरमा प्रदेश १ का उद्योग, वन, पर्यटनमन्त्री जगदिशप्रसाद कुसियैतले शुभकामना व्यक्त गर्नुभएको छ ।

मन्त्री कुसियैतले शुभकामना सन्देश जारी गर्दै कोभिड १९ का कारण थला परेको पर्यटनको विकासका निम्ति आफू गम्भीर रहेको बताउनुभएको छ । ‘अबको पर्यटन विकासलाई कसरी बढावा दिने साथै नयाँ प्याकेजहरुको बारेमा सरोकारवालाहरुसँग परामर्श र सहकार्य गरी एउटा ठोस निर्णय गर्नुपर्ने व्यवस्थाको लागि म लागिपरेको छु,’ उहाँले सन्देशमा भन्नुभएको छ । अझै पनि कोभिड–१९ को सामना गरिरहनुपरेको भन्दै उहाँले यसबीच पनि निजी र समुदायसँगको सहकार्यमा पर्यटनको विकासमा जुट्न आवश्यक रहेको बताएका छन् ।

विश्व पर्यटन दिवसमा तय भएको नारा ‘पर्यटन र ग्रामिण विकास’ नेपालको लागि पनि सान्दर्भिक भएको मन्त्री कुसियतले बताउनुभएको छ । संघीयतामा आधारित राज्यव्यवस्था र ग्रामीण पर्यटनको प्रचुर संभावना रहेकोले पनि यो सान्दर्भिक रहेको उहाँको तर्क छ । पर्यटनको विकासका लागि ग्रामीण क्षेत्रका पर्यटकीय स्थल तथा अन्य पर्यटकीय आकर्षणको पहिचान, प्रोत्साहन, प्रवद्र्धन र प्रचारमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण क्षेत्रमा विकास र सुशासनलाई उच्च प्राथमिकतामा राखेको भन्दै मन्त्री कुसियैतले प्रदेश १ मा मात्र पर्यटनबाट कुल ग्राहस्थ उत्पादनमा एक दशमलव ९३ प्रतिशत योगदान रहेको चर्चा गरेका छन् । नेपाल सरकारले पहिचान गरेका १०० वटा प्रमुख पर्यटकीय स्थलमध्ये १६ वटा यस प्रदेशमा पर्ने भन्दै मन्त्री कुसियैतले पर्यटनको विकासमा निजी र सामुदायसँग हातेमाले गर्न आवश्यकता रहेकोमा जोड दिनुभएको छ ।

आइतबार, ११ असोज, २०७७, दिउँसोको ०२:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर