विषादी प्रयोगशाला सञ्चालन हुने

बिराटनगर । प्रदेश १ सरकारले स्थापना गरेको प्रयोगशालामा बिदेशबाट आयात गरिएका तरकारी र फलफुलहरु परीक्षण गर्ने तयारी सुरु भएको छ ।

प्रदेश १ सरकारको भूमि व्यावस्था, कृषी तथा सहकारी मन्त्रालयका मन्त्री र कर्मचारीहरुलाई संघीय पशुपंक्षी तथा कृषिमन्त्री घनश्याम भुसालले कामविहिन भइरहेको ‘बिषादी दु्रत बिश्लेषण प्रयोगशाला’ लाई अनुमति दिलाउन पहल थाल्ने आश्वासन दिएपछि प्रयोगशाला सञ्चालनको तयारी भएको हो ।

प्रयोगशाला सञ्चालनमा आएमा विदेशबाट आयात भएका तरकारी र फलफुलको परीक्षण हुनेछ । मन्त्रालयका राज्यमन्त्री राम राना मगर र उच्च कर्मचारीहरुलाई बिहीबार विराटनगरमा मन्त्री भुसालले तुरुन्त प्रयोगशाला सञ्चालनको पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

२०७५ असारमा प्रदेश १ सरकारको कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले ३० लाख रुपैयाँ खर्चेर प्रयोगशाला सञ्चालनमा ल्याएको थियो । प्रयोगशालालाई भन्सार कार्यालयले मान्यता नदिँदा बिदेशबाट आयात भएका तरकारी र फलफुलहरु परीक्षण हुन पाएको छैन ।

प्रदेश मन्त्रालयका प्रवक्ता डा.राजेन्द्र उप्रेतीका अनुसार पटक–पटक अनुमति माग गर्दा पनि भन्सार कार्यालयले बिभागबाट निर्णय नभएको जानकारी गराउँदै प्रयोगशाला सञ्चालनको अनुमति दिएको छैन । आयात हुने तरकारी र फलफुलको बिषादी परीक्षण गर्ने मुख्य उद्देश्यले प्रदेश सरकारले प्रयोगशाला सञ्चालनमा ल्याएपनि संघीय सरकारले अनुमति नदिँदा नेपाली बजारमा बिक्री भइरहेका तरकारी र फलफुलहरुको मात्र नुमना परीक्षण हुँदै आएको छ ।

विदेशबाट आयात हुने तरकारी र फलफुलहरुको बिषादी परीक्षण गराउन प्रदेश २ स्थित सर्लाहीको नवलपुर र झापाको विर्तामोड नमुना लानुपर्ने बाध्यता छ । जसले गर्दा परीक्षण खर्चिलो र झन्झटिलो भएकोले विराटनगर स्थित प्रयोगशालालाई नै अनुमति प्रदान गर्न भन्सार एजेन्ट र कारोवारीहरुले माग गर्दै आएका छन् ।

लकडाउनको समयमा पनि आयात भएका तरकारी र फलफुलहरु व्यापारीहरुले सर्लाहीको नवलपुर र झापाको विर्तामोड स्थित प्रयोगशालामा बिषादी परीक्षणका लागि लानुपरेको थियो । झन्झटले गर्दा धेरै व्यापारीहरुले मिलेमतोमा नमुना परीक्षण नै नगराई कागजी प्रतिबेदन पेश गरेर भन्सारबाट बिषादीयुक्त तरकारी र फलफुल जाँचपास गराएर नेपाल भित्र्याएर बिक्री गरेका थिए ।

आइतबार, ११ असोज, २०७७, बिहानको ०७:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर