विराटनगर । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड १९ को महामारीको अवस्थामा कैदीबन्दीहरुको स्वास्थ्यलगायत आधारभुत अधिकारहरुको उपभोगको अवस्थाको बारे अनुगमन थालेको छ ।
सातै प्रदेशका विभिन्न कारागारहरुमा आयोगका माननीय सदस्य सुदिप पाठकको नेतृत्वमा स्थलगत अनुगमन गर्ने आयोगको निर्णय अनुसार बुधबार मोरङ्गको विराटनगर तथा सुनसरीको झुम्का कारागारको अनुगमन भएको आयोगले जनाएको छ ।
अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, प्रहरी प्रमुख सन्तोष खड्का, जिल्ला न्यायधिवक्ता मनोज आचार्य, कारागार प्रमुख सुबासकुमार लामिछानेलगायतयको सहभागिता थियो । सुनसरीमा भएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, सुनसरीका प्रहरी नायव उपरिक्षक, जिल्ला न्यायधिवक्ता गोकुल निरौला, झुम्का कारागार प्रमुख अनिल खनालसहित सहभागी रहेको आयोगले जनाएको छ ।
कोभिड १९ को संक्रमणबाट कैदीबन्दीलाई सुरक्षित राख्न नेपाल सरकारले जारी गरेका निर्देशनहरु पूर्ण रुपमा पालना गर्दै आएको प्रशासनले जाकारी दिएको छ । क्षमताभन्दा धेरै कैदीबन्दी रहँदाको अवस्थामा केही असहजता भएको उनीहरुको भनाइ थियो ।
कैदीबन्दीका प्रतिनिधिहरुले सम्भव भएसम्म स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता राखिएको बताएका थिए । मोरङ जिल्ला कारागारमा ९ सयभन्दा बढी कैदीबन्दी रहेका छन् भने झुम्का कारागारमा १७ सयभन्दा बढी कैदीवन्दी छन् ।
आयोगले २० जिल्लाका २४ वटा कारागारको अनुगमन पश्चातपछि प्राप्त तथ्यहरुसहित सरोकारवाला निकायलाई सिफारिश गर्ने जनाएको छ ।

