ताप्लेजुङ । जिल्ला फर्कन टिकट काटेका ४ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि ६ जना मात्रै यात्रु लिएर सीता एयरको जहाज सोमबार ताप्लेजुङको सुकेटार विमानस्थलमा ओर्लिएको छ ।

कोरोना महामारीपछि आन्तरिक उडान सञ्चालन भएको पहिलो दिन ताप्लेजुङ आउन १० जनाले टिकट गरेका थिए । उनीहरुमध्ये जहाड उड्नु अगाडि कोरोना देखिएकोले ४ जना काठमाडौंमै रोकिएका छन् ।

जहाजले ताप्लेजुङबाट भने ७ जना यात्रु लिएर जहाज काठमाडौं फर्किएको छ । आन्तरिक उडान सुरु भएसँगै सुकेटार विमानस्थलमा सीता एयरले पहिलो उडान गरेको हो । कोरोनालाई ध्यान दिँदै यात्रुको पिसिआर जाँचदेखि अन्य स्वास्थ्य सुरक्षाका आवश्यक उपाय अपनाएर नियमित उडान सुरु गरिएको सीता एयरका रिजेश थापाले बताउनुभयो ।

थापाका अनुसार काठमाडौंबाट अन्यत्र उड्ने यात्रुलाई पिसिआर जाँच गर्नुपर्ने सरकारले भनेको छ । पिसिआर जाँचका लागि सीता एयरले ५ सय रूपैयाँ छुटसमेत दिएको छ । जाँचका लागि बाँकी खर्च यात्रुले नै बेहोर्नुपर्छ ।

सरकारले यात्राका लागि पिसिआर जाँच अनिवार्य नभने पनि स्वास्थ्य सुरक्षाका लागि सीता एयरले सतर्कता अपनाएको हो । यता लामो समय बन्द रहेको सुकेटार विमानस्थलमा उडान सुरु भएसँगै यहाँको स्वास्थ्य सुरक्षामा ध्यान दिइएको ताप्लेजुङ नागरिक उड्डयन कार्यालय प्रमुख सूर्यबहादुर खत्रीले बताउनुभयो ।
सीता एयरले गत मंसिरदेखि सोमबार र शुक्रबार नियमित काठमाडौं ताप्लेजुङ उडान सुरु गरेको थियो ।