विर्तामोड । मेची अस्पताल मातहत रहनेगरी नागरिक तहबाट खरिद गरिएको नयाँ पिसिआर मेसिन झापामा सञ्चालनमा आएको छ ।

स्थानीयको पहलमा झापाको कन्काई गाउँपालिका ४ कोटिहोममा स्थापना भएको नयाँ प्रयोगशालामा जडान गरिएको पिसिआर मेसिन प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बुधबार उद्घाटन गर्नुभयो ।

प्रयोगशालाको व्यवस्थापन मेची अस्पतालले गर्नेछ । एकका लागि एक अभियानको अगुवाइमा जनस्तरबाट संकलित सहयोगबाट मेसिन खरिद र प्रयोगशाला स्थापना गरिएको हो ।

विश्वमा फैलिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै जनताको सहयोगमा निर्मित प्रयोगशाला वर्तमान अवस्थाको अपरिहार्य आवश्यकता भएको प्रदेश प्रमुख अधिकारीले बताउनुभयो । उहाँले सामाजिक स्तरमा फैलिरहेको कोरोना महामारीसँग लड्नुपर्ने अवस्था सृजना भएकाले आपसी सद्भाव, माया, स्नेह, कर्तव्यपरायण र पारस्परिक सहयोग गर्नुपर्ने बताउनुभयो ।