राजविराज । सामूहिक बलात्कारमा परेकी सप्तरीकी एक किशोरीले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ ।
भदौ २९ गते बिहान ९ बजेतिर खेतमा घाँस काट्न गएका बेला गाउँका चार युवा आएर उनलाई घेरा हालेर बलात्कार गरेको प्रहरीको दाबी छ । स्थानीय जुगेश्वरी साहको खेतको आलीमा दुई युवाले राक्षसी स्वरुपमा उनलाई बलात्कार गरे । केही समयपछि अर्का दुई युवाले उनलाई फेरि बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । त्यहाँबाट फुत्केर उनी घर पुगेर आमालाई भनेको र समाजका अगुवाले मिलापत्र गराएको बताइएको छ ।
स्थानीयका अनुसार समाजका अगुवा भनिने केही व्यक्ति भेला भएर गाउँको मुद्दा गाउँमै सामसुम पार्नुपर्छ भन्दै छलफल गरे । मध्यान्ह २ बजे स्थानीय सत्रुघन मण्डलको घरमा बसेका ८ जना पञ्चले पीडक र पीडित पक्षलाई राखेर छलफल चलाएका थिए । ती अगुवाहरुले पीडितलाई रकम दिएर मुद्दा सल्टाउन पीडक पक्षलाई निर्देशन दियो तर पीडित पक्ष खासगरी, ती किशोरी नै मिलापत्रका लागि सहमत भइनन् ।
पीडित परिवार निकट स्रोतका अनुसार कथित पञ्चले बलात्कृत किशोरीलाई उल्टो धम्की दिए । प्रहरीको ढोकामा जाहेरी लिएर जान बन्देज लगाए, गाली गरे । अनि, बलात्कार गर्नेबाट २५–२५ हजार क्षतिपूर्ति दिने सहमति गराए ।
पञ्चको निर्णयले किशोरीको चित्त कुँडियो । त्यही रात उनले घरको बलोमा सलको पासो लगाएर झुण्डिएर आत्महत्या गरिन् ।
‘आत्महत्याको कारण खोज्दा सामूहिक बलात्कारपछि मिलापत्र गराएको थाहा भयो,’ जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता (डिएसपी) तिलक भारतीले रातोपाटीसँग भने, ‘मिलापत्र गराउनेमध्येका तीन जनालाई पक्राउ गरेका छौं । बलात्कारमा संलग्नलाई खोजिरहेका छौं ।’
किशोरीलाई धम्क्याएर मिलापत्र गराउने पञ्चमध्येका जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डल पक्राउ परेका छन् । उनीहरुलाई बलात्कार मतियार र आत्महत्या दुरुत्साहन मुद्दा चलाउने प्रहरीको तयारी छ ।
आत्महत्याको अनुसन्धान गर्न आएका प्रहरीलाई किशोरीकी आमाले बलात्कार मुद्दा ५० हजार रुपैयाँमा मिलापत्र गरेको बताएकी थिइन् । छोरीको मृत्युपछि आमाले ईलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दिएकी छिन् । पीडित किशोरीका बाबु छैनन् । उनका एक दाजु खाडी मुलुकमा पसिना बगाइरहेका छन् भने भाइ सानै छन् ।
डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साह आफू काठमाडौंमा भएका कारण घटनाको बारेमा राम्रोसँग बुझ्न नपाएको बताउँछन् । ‘छोराको उपचार गराउने सिलसिलामा म झण्डै तीन सातादेखि काठमाडौँमै छु,’ उनले भने, ‘जहाँसम्म मैले बुझेको छु, बलात्कारजस्तो मुद्दामा जबर्जस्ती मिलापत्र गराउन खोज्दा पीडितले आत्महत्या गरेको भन्ने कुरा छ ।’
उनका अनुसार अझै पनि ‘जात’ का आधारमा समाज ध्रुवीकृत हुने गरेको छ । यो घटनामा पीडितले न्यायको अनुभूति गर्न नसक्नु त्यसकै एक उदाहरण रहेको उनको भनाइ छ । ‘जसको बोलबाला छ, उसले समाजमा आफ्नो कुरा लाद्न खोज्छ,’ उनी भन्छन्, ‘अर्को पक्षले न्यायको अनुभूति गर्न सक्दैन ।’ दोषीले उन्मुक्ति पाउन नहुने उनको भनाइ छ ।