विराटनगर । विराटनगरका एक जना नेपाली युवामाथि भारतको जोगवनीमा गोली प्रहार भएको छ । विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय बासु भनिने दीपक मण्डलमाथि आइतबार अपरान्ह गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
मटेरुवा प्रहरी चौकी नजिकै रहेको घटनास्थल भारतको जोगवनी नगर पञ्चायत–१२ चाँदनी चोकमा पर्छ । मण्डल नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर–१७ मटेरुवा नाका हुँदै आइतबार दिउँसो ३ बजेतिर भारततर्फ गएकोमा उनीमाथि गोली प्रहार भएको खुलेको नेपाल प्रहरीले जनाएको छ ।
दशगजा नजिकै गोली प्रहारको घटना भएपनि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले भने कुनै सुइँको पाएनन् । कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल–भारत आवतजावत बन्द गरिएको बेला प्रहरीलाई छल्दै भारततर्फ गएका मण्डलमाथि भारतीय युवाले गोली प्रहार गरेका हुन् ।
प्रहरीका अनुसार मण्डलमाथि भारत जोगवनीका मुकेश यादवले गोली प्रहार गरेको खुलेको छ । भारततर्फ केही साथीहरुसँग क्यारम खेलेर बसिरहेका यादवले आफू पुग्नसाथ विवाद गरेर गोली प्रहार गरेको मण्डलले प्रहरीलाई बताएका छन् । गोली प्रहारबाट मण्डलको दायाँ खुट्टाको औंलामा चोट लागेको छ ।
गोली प्रहारपछि घटनामा संलग्नले उनलाई जोगवनीको क्लिनिकमा लगेर उपचार गराएका थिए । त्यहाँ उपचार गराएको पैसा तिर्ने विषयमा पुनः विवाद हुँदा पेस्तोल निकालेर यादवले तीन राउण्ड हवाईफायर गर्दै फरार भएको प्रहरीको भनाइ छ । घटनापछि स्थानीयबीच भागदौड मच्चिएको थियो ।
स्थानीय भागाभाग गर्न थालेपछि आफू पनि नेपाल आउन सफल भएको जानकारी मण्डलले प्रहरीलाई दिएका छन् । प्रहरीले उनलाई राति ९ः३० बजेतिर रोडशेष चोक नजिक फेला पारेर उपचारका लागि कोशी अस्पताल लगेको छ ।
मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले सीमामा आवतजावतमा ठप्प बनाइएको अवस्थामा सुरक्षाकर्मीलाई छल्दै मण्डल भारत जानुको कारणबारे पनि अनुसन्धान भइरहेको छ । गोली प्रहार गर्नेमाथि कार्वाही गर्न आवश्यक समन्वय गर्दै भारतीय प्रहरीलाई आग्रह गरेको उहाँको भनाइ छ ।
मण्डलले भने जोगवनीमा आफ्नो मावली रहेकाले त्यता जाने क्रममा घटना भएको बताएका छन् । प्रहरी स्रोतका अनुसार उनी लागुऔषधका प्रयोगकर्ता हुन् । गोली प्रहार गर्ने भारतीय युवा पनि लागुऔषध कारोबारी भएको खुलेको छ ।