इटहरी । सुनसरीमा सोमबार थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

धरान १६ मा एउटै घरमा बस्ने १३ जनामा र इटहरी उपमहानगरपालिकामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार कोरोना संक्रमित ७८ वर्षीय श्रीमान् र ७० बर्षीया श्रीमतीको क्लोज कन्ट्याकमा रहेकाहरू र उनीहरूकै घरमा भाडामा बस्ने ६ परिवारका १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । श्रेष्ठ दम्पतीको धरान १६ मा रहेको २ वटा घरमा भाडामा बस्नेहरू १२ बर्षीया बालिकादेखि ५७ बर्षीया सम्मलाई कोरोना सङ्क्रमण भएको स्वास्थ्य प्रमुख मेहेताले बताउनुभयो ।

धरानमा एउटै वडा र एकै ठाउँमा यत्तिका धेरै सङ्ख्यामा कोरोना संक्रमित भेटिएको यो पहिलो घटना हो । स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार इटहरीमा ७ जना महिला र ४ जना पुरुष गरी ११ जनामा कोरोना देखिएको छ ।

योसँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्क्रमितको सङ्ख्या १२२३ पुगेको छ । अहिले सम्म ५१६ जनाले कोरोना जितेका छन् भने ७ सय जना जिल्लामा सक्रिय संक्रमित रहेका छन् । कोरोनाबाट ७ जनाको मृत्यु भएको छ ।