विराटनगर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आलोचनात्मक चेत नभएका र प्रशंसा मात्र गर्नेहरुले नेतृत्वलाई डुबाउने बताउनुभएको छ ।
साँच्चैका हितैषीहरुले आफूले ठिक नदेखेको कुरा समयमै भन्नुपर्नेमा जोड दिँदै श्रेष्ठले त्यसले नेतृत्वलाई गल्ती गर्न वा पतनबाट बचाउने टिप्पणी गर्नुभएको छ ।
सामाजिक सञ्जालमा सोमबार स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले निहित स्वार्थकेन्द्रित अन्ध चाकडीवाजहरुले प्रशंसा र भजन मात्रै गाएर डुवाउने उल्लेख गर्नुभएको छ । पार्टीभित्र नेतृत्वको आलोचनालाई गलत ढंगले बुझ्न नहुने बताउँदै आउनुभएका उहाँले नेकपा स्थायी समिति बैठक बस्ने तयारी भइहरेको बेला राख्नुभएको स्टाटस कोप्रति लक्षित हो भन्ने स्पष्ट भने छैन ।
प्रवक्ता श्रेष्ठले लेख्नुभएको छ, ‘आलोचनात्मक चेत भएका साँच्चैका हितैषीहरुले आफूले ठिक नदेखेको कुरा समयमै भन्छन् र गल्ती गर्न वा पतनबाट बचाउँछन्, जवकी निहीत स्वार्थ केन्दृत अन्ध चाकडीवाजहरुले प्रशँसा र भजन मात्रै गाँउछन् र डुवाउछन् ।’ श्रेष्ठले आलोचनात्मक चेत भएका मित्रहरुमा भर गर्न र स्वार्थी अन्ध प्रशंसकबाट सचेत हुन पनि आह्वान गर्नुभएको छ ।
‘बिचारसहितको विवेक भएकाहरु मुर्खले जस्तो सुर्याइँ नदेखाउन सक्छन् र निर्णय एवं कार्य गर्नुअघि संसयकारी जस्ता देखिन सक्छन्’ श्रेष्ठको भनाइ छ,‘तर, बिचारसहितका विवेकीहरु नै सुरा मुर्खहरुभन्दा भरपर्न लायक हुन्छन् ।’ उहाँले लोकतान्त्रिक पद्दतिमा जोड दिँदै यसो गर्दा केही प्रक्रियागत ढिलाई हुनसक्ने भएपनि बिचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता काम राख्नुपर्ने उल्लेख गर्नुभएको छ ।
निरङ्कुश तानाशाहीतन्त्र चाहनेलाई छलफलको झञ्झटबाट मुक्त र छिटो काम हुने ब्यबस्था लाग्नसक्ने भएपनि लोकतन्त्र नै उत्तम विकल्प भएको उहाँको भनाइ छ ।