विराटनगर । आन्तरिक विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्न नेकपामा स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ ।
पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको छलफलमा स्थायी समिति बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभएको छ ।
असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठक आन्तरिक विवादका कारण पटक–पटक स्थगित हुँदै आएको थियो । पछिल्लो पटक साउन १३ लाई तय भएको बैठक ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अध्यक्ष प्रचण्डले एकतर्फी बैठक सञ्चालन गर्दा नेकपा विवाद विभाजनकै तहमा पुगेको थियो ।
विवाद मिलाउन दोस्रो तहका नेताहरुको सक्रियताले साउन २९ मा अध्यक्षद्वय ओली र दाहालले कार्यदल गठन गरेका थिए । साउन ३० मा विवाद समाधान सुझावका लागि महासचिव विष्णु पौडेल नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले भदौ ६ गते सुझावसहितको प्रतिवेदन बुझाएपछि गत बिहीबारको सचिबालय बैठकमा त्यसबारे छलफल भइसकेको छ ।
कार्यदलले दिएको सुझाव अन्तिम नहुने भएकाले स्थायी कमिटीमा छलफल गरेर परिमार्जन गर्नुपर्ने मत नेताहरुले राख्दै आएका छन् । कार्यदलले दिएको सुझाबको आधारमा पार्टी चल्ने र मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी छ ।
कार्यदलले बुझाएको प्रतिवेदन अमुर्त रहेको भन्दै बरिष्ठ नेता माधवकुमार नेपालले भने स्पष्टताको माग गर्नुभएको छ ।