ताप्लेजुङ । अविरल वर्षाका कारण ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ तेल्लोकको नागदेवा लघुजलविद्युत् आयोजनाको पावर हाउसमा झरेको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु लिम्बू र ५५ वर्षीय विष्णुदास थेबेको मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

आइतबार राति परेको अविरल वर्षाको कारण सोही स्थानमा रहेको निर्माणधीन नागदेवा लघु जलविद्युत आयोजनाको पावर हाउस भवन माथिबाट पहिरो झरेको थियो । पावर हाउसमा लिम्बू र थेवे अपरेटरको काम गर्दै आएका थिए। पहिरोले पावर हाउस नै बगाएको छ ।

इलाका प्रहरी कार्यालय तेल्लोकवाट प्रहरी निरीक्षकको नेतृत्वमा ७ जनाको प्रहरी टोली र स्थानीयसमेत घटनास्थलमा गएको छ । पावरहाउस पहिरोले पुर्दा विद्युत् सेवा अवरुद्ध भएको छ ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार दुई दिनअघि तावा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका थिए । उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

सिरिजंघा गाउँपालिका ७ लुम्लेको तावाखोलामा माछा मार्न गएका युवक बेपक्ता भएका थिए । सिदिङवा गाउँपालिका ७ सुरुमखिम घरभएका ३२ वर्षका सूर्यमान लिम्बु र ३६ वर्षका सुमन लिम्बुलाई शनिबार दिउँसो खोलाले बगाएकोमा अहिलेसम्म उनीहरुको अवस्था अज्ञात छ ।