विशाल घिमिरे
धेरैजना साथीहरुको अनुरोधमा मैले आफ्नो उपचारको अनुभवको सार संक्षेप लेखेको छु । उपचारको लागि प्रमाणित केही मापदण्डहरु पनि होलान्। कतिपय स्थानीय तहहरुबाट सिफारिस गरिएको आइसोलेसनमा रहँदाको खानपान र दैनिक ब्यवहारको तालिका सामाजिक सन्जालहरुमा पनि आइरहेका छन् । तिनैको आधार लिएर तथा साथीभाई र शुभचिन्तकहरुको सुझाब अनुसार यो २३ दिनको बसाईमा मैले बुझेको र अपनाएको मापदण्ड (adapted standard) यहाँ लेखेको छु । यो रोगको प्रकृति र लक्षण ब्यक्ति अनुसार फरक फरक हुने गरेको पाइएको (अन्य संक्रमित ब्यक्तिहरुसँगको अनुभव आदानप्रदानबाट थाहा भए अनुसार) ले सबैलाई यहि ठिक हुन्छ भन्न सकिन्न । बिरामीको प्रकृति अनुसार आफ्नो नजिकको स्वास्थ्यकर्मीको सल्लाह बमोजिम गर्नहुन अनुरोध छ ।
# एकान्तबासमा पूर्णतः एक्लो बसाइ, खुला हावादार कोठामा आफ्नो सामान, भाँडा, कपडा, बाथरूम बिरामीको मात्र प्रयोगमा, अरुले उपयोग शेयर नगर्ने ।
# बिहान तातो कागतीपानी र पसिना निस्कन्जेल जुम्बा डान्स गर्ने । केहिबेर तातोपानीको बाफको उपचार । स्वास्प्रस्वास लिने र छोड्ने अभ्यास । अदुवा मरिचसहितको कागतिचिया । गुर्जोको डाँठ, मरिच, तेजपात, दालचीनी, अदुवा, बेसार, सक्खर, ज्वानो, टिमुर, तुलसी नीम र पारिजातको पात, अश्वगन्धाको पाउडर, जेठिमधुको पाउडर मिसाएर पकाएको तातो सुप पटक–पटक। आफूलाई रुच्ने तातो खाना (मैले शाकाहारी अपनाए) । सुरुको १० दिन जति त दैनिक ६ लिटरसम्म तातोपानी सेवन गरेँ ।
# दिउसोभरिमा ३ पटक कागती र अदुवा मरिच कागती चिया वा तातो सुप । सुरुको ८–१० दिनसम्म दिनको १ दाना अमला खाएँ । परिवार, साथि शुभचिन्तकहरुसँगको सकारात्मक फोनवार्ता ।
# साँझमा पसिना निस्कञ्जेल जुम्बा डान्स, केहिबेर तातोपानीको बाफको उपचार । स्वाशप्रश्वास लिने र छोड्ने अभ्यास । रुचि अनुसारको खाना । माथी लेखियेको तातो सुप । त्यो तातो सुप एकैपटक ठुलो भाँडामा पकाइराख्ने र समय समयमा निकालेर पिउने गरेको ।
# बिहान र राती सुत्ने बेलामा एक चिम्टी धुलो बेसार राखेर एक गिलास तात्तातो दूध । शरिरलाई पूर्ण आराम पुग्नेगरी निन्द्रा प्राप्ती ।
# इच्छानुसारको गीतसङ्गीत र भजन श्रवण । आफ्नो कोठा बाथरूम प्यासेजलाई स्यानिटाइजर झोल स्प्रे गरी साँझ बिहान डिसिन्फेक्सन सफाइ ।
# सुरुको २ दिनसम्म ज्वरो आउदा र शरिरको ढाड जोर्नीहरु दुख्दा बिहान बेलुकी फ्लेक्सन १–१ चक्कि, करिब ७–८ दिनसम्म । खोकी लाग्दा पोलेको बोझोको जरा टुक्रा र जेठीमधुको डाँठको टुक्रा मुखमा राखी रस चुसिरहने । मह पनि उपयोगी हुने, परिवारमा अरुले खाए, मेरो एलर्जिको कारण मह खाइन । खोकी लाग्नसक्ने हुनाले दहि महि र चिसो पानी वर्जित गरियो ।
# कोरोना संक्रमण भएको २ दिनपछि देखि करिब १ साता नाकमा गन्ध र जिब्रोमा स्वाद हराउदो रहेछ । शून्य बराबर, केही नै थाहा नहुने । यतिसम्म कि मैले सञ्चोको बिर्को खोलेर नाकैमा पसाउँदासमेत कत्तिपनी गन्ध थाहा नहुने । अनि खानाको त स्वादै थिएन। मात्र अलिअलि नुनिलो महसुस हुने । यतिबेला अलिअलि नून र बिरेनून, कागती र अकबरे खुर्सानी अचारको रुपमा चाट्ने गरे । अनि बल्ल केही स्वाद मससुस हुन्थ्यो। पछि सन्चो हुँदै गएपछि गन्ध र स्वाद फिर्ता आयो ।
# बिचमा १ दिन पखाला लागेको, तर औषधि नखाइ सन्चो भयो । ज्वरो, खोकी र पखलाले गर्दा होला, करिब ३–४ दिनसम्म शरीर एकदम कमजोर र आलस्य भयेको महसुस गरे । कमजोरीले गर्दा होला, केही नगरी बस्दा पनि पसिना आइरहने । हुनत त्यस्बेला शरिरमा तातोपानीको आपूर्ति पनि धेरै थियो । पछि संक्रमणले छोडदै गएपछि यो सबै नर्मल हुँदैगयो ।
# यस अवधिभर म, श्रीमती अन्जु जी (यसबीचमा टेस्ट नगराएपनि संक्रमणको लक्षणहरु देखिएर करिब १२ दिन बिरामी परेको) र कर्मचारी अच्युतमजी (आफु पनि सन्क्रमित हुनुभएको) ले मिलेर यी ब्यवस्थापन गरेर सबैले यसै अनुसार सँगै उपचार गरेको ।
# बजारको थप औषधि : बिहान बेलुकी एक एक चम्चा च्यावनप्रास, भिटामिन सी acetic acid ट्याब्लेट र जिन्क ट्याब्लेट एक एक चक्की बिहान बेलुकी । आयुर्वेदिक पसलबाट अश्वगन्धा र जेठी मधुको पाउडर । खोकी सन्चो गर्न आयुर्वेदिक कस्तुरी भूषण र कासामृत सिरप । जडिबुटी कम्पनिको सन्चो ।
# आफुसँग शरिरमा अन्य रोग बिराम छैन भने धेरै डराउनु पर्ने रहेनछ । मैले आफ्नो अन्य कुनै रोगबिराम भएको महसुस गरेको छैन । मैले ओक्सिमिटर र थर्मामिटरबाट आफ्नो मापन नियमित गरिरहेको थिए ।
# यो मेरो ब्यक्तिगत अनुभव हो । सबैमा यो उपचार, विशेष गरी बजारको औषधीको प्रकार र मात्रा, लागू नहुनसक्छ । आफ्नो समस्याको प्रकृति एवम डाक्टरको सल्लाह अनुसार गर्नुहुन अनुरोध गर्दछु ।
# यसबीचमा मेरो सुस्वास्थ्यको कामना गर्नुहुने सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दछु । हजुरहरु सबैमा सुस्वास्थ्यको शुभकामना ।
(कोरोना संक्रमण भई घरैमा बसेर संक्रमणमुक्त हुनुभएका लेखक जिल्ला वन कार्यालय मोरङका प्रमुख हुनुहुन्छ)