इटहरी । सुनसरीमा शुक्रबार १६ जना प्रहरी र २ जना नेपाली सेनासहित ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीका १३ जना प्रहरमिा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि प्रहरीको हिरासतमा रहेका थुनुवामा कोरोना पुष्टि भएको थियो । उनीहरुको कन्ट्याक ट्रेसिङको आधारमा परीक्षण गर्दा १३ जना जिल्ला प्रहरी कार्यालयका र अन्य ३ जना प्रहरीमा कोरोना देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले जानकारी दिनुभयो ।
संक्रमित १६ प्रहरीमध्ये ११ जना पुरुष र ५ जना महिला रहेको बताइएको छ । यसैगरी १ जना इनरुवा नगरपालिकाका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शुक्रबार नै धरान उपमहानगरपालिकामा २ जना नेपाली सेना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १ जना नर्स, एक जना प्रतिष्ठानका कर्मचारीको छोरी, अरू थप ३ जना महिला, २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । उता सुनसरीको देवानगञ्ज गाउँपालिकामा २ पुरुष र २ महिला, कोशी गाउँपालिकामा ३ जना पुरुष, इटहरी उपमहानगरपालिकामा ५ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
योसँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ७७ पुगेको छ । संक्रमितमध्ये २ सय ३५ जना कोरोनामुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।