विराटनगर । कारोनासँग मिल्दो लक्षण भएका एक जना बेवारिसे पुरूषको विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको छ ।
धनकुटाको भेरीगाउँपालिका ३ घर बताउने ५० वर्षीय पुरूषको शुक्रबार बिहान अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो ।
खोकी, ज्वरो र छाती दुखेपछि मोरङको पथरी बजारबाट स्थानीय र प्रहरीले एम्बुलेन्समा राखेर बिहीबार राति उनलाई कोशी अस्पतालमा ल्याएका थिए । अस्पतालको आइसोलेसनमा राखेर उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।
मृतक पथरी बजारमा लामो समयदेखि रहँदै आएका थिए । विरामी भएपछि स्थानीय प्रहरीले उद्धार गरि उनलाई अस्पताल पठाएको थियो । एम्बुलेन्सले अस्पतालको गेटमा छोडेर हिडेपछि विरामीलाई आइसोलेसनमा राखेर उपचार गरिएको मेसु दासले बताउनुभयो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकोले स्वाब संकलन गरेर प्रयोगशाला पठाएको अस्पतालले जनाएको छ । मृतकको रिपोट भने आइसकेको छैन ।