विराटनगर । कोरोना महामारीबाट आक्रान्त हुँदै गएको विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा महानगर कमिटीले समुदायमा संक्रमण फैलिन नदिन घरघरमा निर्मलीकरण गर्ने काम थालेको छ ।

महानगर कमिटीले शुक्र विराटनगर ३ पुष्पाञ्जली टोल स्थित आरती स्ट्रिप्स्मा कार्यरत श्रमिकको घरलाई निर्मलीकरण गरी अभियान आरम्भ गरेको हो ।

महानगर कमिटीले प्रत्येक वडा कमिटीलाई परिचालन गरी आफ्नो वडाका संक्रमितको घरलाई निर्मलीकरण गर्ने र जनताको सुखदुःखमा पार्टीको साथ रहन्छ भन्ने प्रमाणित गर्न पनि अभियान अघि बढाएको महानगर कमिटीका अध्यक्ष सागर थापाले बतााउनुभएको छ ।

शुक्रबार विराटनगर ३ मा एउटा घर, वडा ४ मा दुई वटा घर र वडा नम्बर ५ मा केही घरहरुमा निर्मलीकरण गर्ने काम भएको उहाँले बताउनुभयो । यो अभियान निरन्तर जारी राख्ने र सबै पार्टी सदस्यहरुलाई जनचेतना अभिवृद्धि गर्दै संक्रमितहरुको सुरक्षामा सजग गराउने तर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ ।

विराटनगर महानगरपालिकामा अहिलेसमम ७४५ जना कोरोना संक्रमित भइसकेको र ९ जनाको मृत्यु भएको छ । अस्पतालमा आइसोलेसन भरिएका कारण ३४१ जना संक्रमित घरमै आइसोलेसन बस्न वाध्य भएका छन् ।