दोहोरो नागरिकता भएकालाई मदरसाको प्रअ नियुक्ति

विद्यालय व्यवस्थापनदेखि महानगरपालिकासम्मको मिलेमतो रहेको आरोप

विराटनगर । विराटनगर महानगरपालिकाभित्र सञ्चालित एक मदरसा (मुस्लिम समुदायका विद्यार्थी पढ्ने धार्मिक विद्यालय) मा भारत र नेपालको दोहोरो नागरिकता भएका व्यक्तिलाई प्रध्यानाध्यापकमा नियुक्त गरेको खुलेको छ ।

विराटनगर १३ स्थित पुरानो हवाई फिल्डमा रहेको ताजुल ईस्लाम आधारभुत विद्यालयको प्रअमा दोहोरो नागरिकता भएकोे मो.जावेदलाई नियुक्त गरिएको हो ।

केही समय पहिलेसम्म सोही विद्यालयको एक सामान्य शिक्षक पदमा रहेका जावेदलाई विद्यालय व्यवस्थापन समिति र विराटनगर महानगरपालिकाको शिक्षा शाखाको मिलेमतोमा असार ३० गते प्रअ बनाईएको हो । स्रोतका अनुसार मो.जावेदलाई प्रअ बनाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हैदर अलीले जेठ १ गते राजिनामा दिन लगाएका थिए । जेठ २ गते प्रअ मौलाना समसुल हकले राजिनामा स्वीकृत गरेपछि मो.जावेदलाई प्रअ बनाउने चलखेल सुरु भएको थियो ।

जावेदसँग भारतको समेत नागरिकता रहेको प्रमाण फेला परेको छ । नेपाली नागरिकतामा बुबाको नाम असलम मिँया लेखाएका जावेदले भारतको निर्वाचन आयोगको परिचय पत्रमा बुवाको नाम सागिर मिस्त्री लेखाएका छन् । पुरै परिवारको दोहोरो नागरिकता भएको उनलाई कसरी विद्यालय व्यवस्थापन समितीले प्रअमा नियुक्त गरियो भन्ने प्रश्न स्थानीयले उठाएका छन् ।

जावेदको बुवा मो.असलम आमा बशीरन खातुन, भाई मो.आविद र भाउजु अखतरी सबैको दोहरो नागरिकता रहेको स्थानीयको भनाइ छ । आमा बशीरन खातुनको नाममा विराटनगर महानगरपालिकाको साबिक २२ र हालको १७ नम्बर वडा स्थित ईस्लामपुरमा सिट नम्बर ०९७२।०८, कित्ता नम्बर ३० को घ वर्गको ०१३३४।३२, ठेली पास नम्बर ४७ को ४ कठ्ठा जग्गा रहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हैदर अलीले दोहोरो नागरिकताबारे आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । यो विषयमा खोजी गर्ने र गलत भए कारबाही गर्ने उहाँको भनाइ छ ।

पहिले प्रअ रहेको मौलाना समसुल हकसँग विद्यालय व्यवस्थापन समिति अध्यक्ष हैदर अलीको सम्बध बिग्रिएपछि जावेदलाई प्रअमा नियुक्त गरिएको हो । समसुलले भने आफूलाई प्रअबाट हटाएको कुनै आधिकारीक जानकारी नभएको बताउनुभएको छ ।

बिहिबार, ०४ भदौ, २०७७, दिउँसोको ०१:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर