विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठनका बारेमा भ्रामक प्रचार भएको बताउनुभएको छ ।
नेकपाभित्र उत्पन्न विवाद समाधानको लागि महासचिब विष्णु पौडेलको नेतृत्वमा गठन भएको कार्यदलको विरुद्धमा प्रवक्ता श्रेष्ठसहित नेताहरु माधबकुमार नेपाल र झलनाथ खनाल रहेको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबुक स्टाटस लेखेका थिए ।
थापाको स्टाटस र त्यसबारे सञ्चार माध्यममा पनि समाचार आएपछि आइतबार प्रवक्ता श्रेष्ठले फेसबुक स्टाटस लेख्दै कार्यदल गठन सकारात्मक भएको स्पष्ट पार्नुभएको हो । ‘कार्यदलले तत्कालीन रुपमा कोभिड(१९ को नियन्त्रण, उपचार र अर्थतन्त्रको पुनर्निर्माण र अन्ततस् राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्नेछ’ श्रेष्ठले लेख्नुभएको छ, ‘यसलाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपूर्ण छलफल गरी संस्थागत निर्णय गरिनेछ। यस स्थितिमा कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत हो ।’
श्रेष्ठले अध्यक्षहरुद्वारा पार्टीभित्रका समस्याहरुको समाधान र संकटको निकासको निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम सुरु गरिसकेको र त्यसले पार्टी एकताको रक्षा सुनिश्चित गर्ने विषयमा सकारात्मक सन्देश दिएको बताउनुभएको छ । ‘मैले यसअघि नै सार्वजनिक रुपमा पार्टी संकटको निकासको सूत्र प्रस्तुत गरिसकेको हुँ, पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णय अनुसार महाधिवेशनको तयारी। पार्टी एकताको रक्षाले हामी सबैलाई खुसी बनाएको छ’ उहाँको भनाइ छ ।
पार्टीभित्र केही बिषयमा कुनै छलफल, बहस र संघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भइहाल्नु उपयुक्त नहुने पनि श्रेष्ठको मत छ । बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ वैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।