विराटनगर । प्रदेश १ प्रदेशसभाले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ को पहिलो संशोधन बिधेयक पारित गरेको छ ।
भौतिक पुर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले प्रदेशसभाको आइतबारको बैठकमा पेश गर्नुभएको बिधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
विधेयकको दफावार छलफलमा बोल्दै सांसद श्रीप्रसाद मैनाली र बिन्दिया कार्कीले ऐन निर्माण गरेको कम्तिमा पनि ३ महिनाभित्र नियमावली बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले भाडादर तोक्न गठन गरिने परामर्श समितिमा सम्बन्धित सरोकारवाला क्षेत्रको पनि सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।
संशोधन विधेयकउपरको दफावार छलफलका क्रममा सांसदहरुले उठाउनुभएका प्रश्न तथा जिज्ञासाका सम्बन्धमा जवाफ दिँदै राज्यमन्त्री गुरुङले सांसदहरुले उठाउनुभएका बिषयलाई सकारात्मक रुपमा लिईने बताउनुभएको थियो ।
आइतबारको बैठकको शुन्य समयमा सांसद अम्बिका थापाले उदयपुरका जनताले उच्च अदालतको सेवा लिन ओखलढुङ्गा धाउनुपर्दा २५ देखि ३० हजार रुपैयाँ खर्च गर्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उपेन्द्रप्रसाद घिमिरेले अविरल बर्षाका कारण मोरङको चुरे क्षेत्रको खानेपानी तथा सडक लगायतका संरचना ध्वस्त भएको जानकारी गराउनुभयो । प्रदेशसभाको अर्को बैठक भने साउन ५ गते सोमबार दिनको १ बजे बस्नेछ ।

