हाम्रोमत:सम्पादकीय
जेठ अन्तिमबाट सुरु भएको मनसुनी वर्षा अहिलेपनि देशभरी जारी छ । यस पटक मनसुन आरम्भ भएदेखि नै पानी परिरहेको छ । निरन्तरको पानीले देशव्यापी रुपमा बाढी, पहिरो र डुवानका समस्याहरु भएका छन् । मनसुन पछिको अवधिमा मात्र नेपालमा पहिरो र बाढीमा परेर एक सय जना हाराहारी मानिसको ज्यान गएको छ । सयौं घर पहिरोमा बगेको छ भने कयौं घरबार बिहीन भएका छन् ।
बाढी पहिरोको प्रकोपमा प्रदेश १ पनि परेको छ । प्रदेश १ को संखुवासभा, भोजपुर आदि ठाउँमा पहिरोले घरहरु बगाएको छ । संखुवासभाको सिलिचोङमा पहिरोमा परेर बेपत्ता भएका ११ जनाको अहिलेसम्म कुनै पत्तो लागेको छैन । विस्थापित भएकाहरुले बस्ने आश्रयस्थल पाएका छैनन् भने उनीहरु आलुको भरमा बाँच्न वाध्य छन् । घर पहिरोले बगाएपछि बचेको ज्यान बाहेक उनीहरुसँ न लगाउने कपडा छ न खाने अन्न नै । न त उनीहरुसँग सुत्ने ओछ्यान बाँकी रह्यो न ओड्ने सिरक नै । खुला आकासमा रात काट्नु पर्ने अवस्थामा पहिरो पीडितहरु छन् ।
प्रदेश सरकारले विराटनगरमा सिलिचोङका लागि राहत सामग्रीसहित सोमबार र मंगलबार दुई पटक हेलिकप्टर मार्फत पठाएको छ । तर हेलिकप्टर सिलिचोङ पुग्न सकेन र तुम्लिङ्गटारमै छोडेर फर्किएको छ । सरकारले राहत पठायौं भनेपनि पीडितसम्म राहत पुगेको छैन । पहिरोमा परेर भोजपुरमा पनि मानवीय क्षति भएको छ । घर बगाएको छ । त्यहाँ पनि सरकारले आवश्यक ध्यान दिन सकेको छैन ।
प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन । तर जुनसुकै बेला पनि आउन सक्छ भनेर सचेत रहनुपर्छ । सरकारले सम्भावित प्रकोपको अनुमान गरेर पूर्वतयारीसमेत गर्नुपर्छ । छिटोभन्दा छिटो कसरी राहत उपलव्ध हुन्छ त्यस तर्फ सरकारले बेलैमा ध्यान पुग्नुपर्छ । न की पहिरो गएको पाँच दिनसम्म पनि पीडितहरु सरकारको आसमा खुला आकासमुनी हेलिकप्टरको आवाज कुरेर बसुन् ।
यतिमात्र होइन सरकारले पहिरोमा परेर मृत्यु भएकाहरुको परिवारलाई तत्काल क्षतिपूर्तिसमेत दिनुपर्छ । प्रदेश ३ ले बाढी पहिरो र डुवानमा परेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ क्षतिपुर्ति दिने निर्णय गरेको छ ।
प्रदेश १ ले त्यस्तो निर्णय गरेको वा प्रदान गरेको बिषय सार्वजनिक भइसकेको छैन । त्यसैले सरकारले त्यस तर्फपनि ध्यान दिनु पर्छ र पीडितहरुको पुर्नस्थापना र पुनर्बासको लागि तत्काल कदम चाल्नु पर्छ । सरकारले यस वर्षको जनता आवास कार्यक्रम पहिरोबाट घरबार गुमाएकाहरुमा प्राथमिकतासहित केन्द्रीत गर्नुपर्छ ता की उनीहरुले बस्नका लागि एउटा घर पाउन सकुन् ।