ओसिम आलम
नेकपा भित्र देखिएको विवादलाई युवा विद्यार्थीको हैसियतमा कसरी हेर्नुभएको छ ?
– यो विवाद जो देखिएको छ, यो विवाद विधि र पद्धतीसँग सम्बन्धीत हो । त्यसकारण विधि र विधान अनुसार सबै चल्नुपर्छ, पार्टी भित्र देखिएको अहिलेको विवाद त्यही हो । पार्टीको विधि र विधानभन्दा माथि कोही छैन । त्यो कुराको पालना सबैले गर्नुपर्छ ।
आफूलाई घेराबन्दी भएको भन्दै प्रधानमन्त्रीले युवा विद्यार्थीसँग सहयोग माग्नु भएको छ नि ? यो विषयलाई कसरी लिनुभएको छ ?
– यो संस्थागत रुपमा युवा विद्यार्थी संगठनलाई बोलाएको कुरा होइन । व्यक्तिगत ढंगले कसैलाई बोलाएर देशभर नारा जुलुस लगाउनु भन्ने निर्देशन भएको हो भने त्यो प्रधानमन्त्री तथा अध्यक्षले गर्नै नहुने काम गर्नुभएको हो । अध्यक्षले सिंगो पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्नेमा पार्टीका अन्य नेताहरुको तेजोबध गर्नेगरी आफ्नो समर्थनमा जुलुस लगा भन्नु अराजनीतिक छ । त्यसमाथि कोरोना भाइरसको माहामारी चलिरहेको बेलामा सत्ताको नेतृत्व गर्नेले नै सडकमा भीड जम्मा गर्नु÷गराउनु हास्यास्पद छ । एमसीसीको विरुद्धमा विद्यार्थी संगठनहरुले गरेको नाराजुलुसमा कोरोना सर्ने भन्दै प्रहरीले लाठी हान्ने र धरपकड गर्ने तर, सत्ताको रक्षाका लागि नाराजुलुस गर्दा भने कोरोना नसर्ने भन्ने विषय पनि हुन्छ र ? यो सरासर गलत कुरा हो ।
यो पार्टीको विवादको समाधान कसरी हुनसक्छ ?
– यसको प्रमुखको हैसियतले पार्टी अध्यक्ष भएको नाताले सबैभन्दा बढी जिम्मेवार अध्यक्ष तथा प्रधानमन्त्रीले नै लिनुपर्छ । पार्टी विधि विधानअनुसार चल्नुपर्छ भन्ने विषय उठिसकेपछि नेताहरु बसेर छलफल गरेर त्यसको समाधान निकाल्नु पर्छ । पार्टीको बैठकमा बसेर छलफल गर्नु र निकास निकाल्नुको सट्टा बैठक छोडेर समस्याको समाधान हुँदैन ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट पनि राजिनामा दिनुपर्छ भन्ने आवाजलाई कसरी हेर्नुभएको छ ?
– यो आवाज किन उठ्यो, पार्टीका नेताहरुले किन उठाउनु भयो, त्यो अवस्थासम्म कुरा उठाउनका लागि पार्टीका नेताहरु कसरी पुग्नुभयो ? यस्ता विषयको खोजी गर्नुपर्छ । यो एकैपटक उठेको विषय होइन । प्रधानमन्त्रीले विभिन्न पदमा नियुक्त गर्दा होस् या राष्ट्रिय महत्वको विषयमा विभिन्न निर्णय गर्नुपर्दा एकलौटी किन गर्नुभयो । पार्टीका शीर्ष नेताहरुबीच छलफल हुन किन सकेन ? त्यसको कारण भनेको अध्यक्ष एकलौटी ढंगले अगाडि बढ्न खोज्नुभयो । पार्टी केही होइन, म नै सबैथोक हो भन्ने, अरु शीर्ष नेताहरुको अपमान गर्ने, केन्द्रीय समितिको निर्णय कार्यान्वयन नगर्ने, स्थायी समितिको बैठकलाई अनादर गर्ने, सचिवालयमा भएका छलफल र निर्णयको विषयलाई गम्भिरतापूर्वक नलिने गरेकै कारण अहिले पार्टी भित्रको विवाद यो रुपमा गएको हो । यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री तथा पार्टी अध्यक्षले लिनुपर्छ ।
विवादको कारणले पार्टी विभाजन हुने चर्चा चलिरहेको छ । पार्टी फुटको संघारमै पुगेको हो ?
– कुनै पनि हालतमा यो पार्टी फुट्ने र फुटाउने कुरामा कोही लाग्नु हुँदैन । किनकी यो पार्टी हजारौं सहिदहरु, सयौं नेता तथा कार्यकर्ता र आम जनसमुदायको समर्थनमा यो पार्टी बनेको हो । यो पार्टीले नेपाललाई समृद्ध बनाउने, जनतालाई सुखी र सम्पन्न गर्ने जिम्मेवारी छ । गुटपरस्त र फुटपरस्तहरुको हैसियत यस अघि पनि देखिएकै हो । त्यसैले कोही पनि त्यो बाटोमा लाग्दैन र लाग्नुहुँदैन भन्ने विश्वास छ । विवादहरु छलफलको माध्यमबाट हल गर्नुपर्छ । पार्टी फुटाउनेलाई कोही कसैलाई छुट दिनेवाला छैन । यदि त्यस्तो भए र पार्टी फुटे त्यो नेपालको कम्युनिष्ट आन्दोलनका लागि कालो दिनको रुपमा दर्ज हुनेछ । त्यसकारण म सबै युवा विद्यार्थीलाई पार्टीलाई एकजुट हुन दबाब सिर्जना गर्नुपर्छ, पार्टी फुटाउन खोज्नेहरुलाई परास्त गर्न र उत्तेजित बनाउनेहरुलाई निरुत्साहित गर्न लाग्नुपर्छ ।
पार्टी भित्रको समस्या समाधानमा युवा विद्यार्थीको भूमिका के हुनसक्छ ?
– अहिले देखिएको अराजकता, पार्टी नेतालाई तल्लो स्तरको भाषा प्रयोग गर्ने, जिम्मेवार युवा विद्यार्थी नेताहरुले नै विधि र पद्धती विपरीत तेजोबध गर्ने, सामाजिक संजालमा विभिन्न हिसावका अपमानित गर्ने खालका फोटो तथा स्टाटस पोष्ट गर्ने, आफूलाई मन नपरेका नेताहरुलाई राक्षस जस्तो गर्ने र मनपरेका नेतालाई देउता बनाउने जस्ता काम भइरहेका छ । फेरि, तिनै युवा विद्यार्थी नेताहरु पार्टी एकताको कुरा गर्ने प्रवृत्ती पनि अहिले मौलाएको छ । आफूलाई चित्त नबुझेको कुराको विरोध गर्नुपर्छ, म पनि गर्छु तर भाषा, शैली, मर्यादा र कम्युनिष्ट आचरणलाई ख्याल गर्ने कि नगर्ने यो गम्भीर समस्या भएको छ । युवा विद्यार्थीले यो पार्टी कुनै एक व्यक्तिको योगदानले बनेको होइन, सबै नेता कार्यकर्ताको योगदानले पार्टी बनेको हो । जति नेताहरु हुनुहुन्छ सबैको योगदान छ । त्यसकारण पार्टी विधि अनुसार चल्नुपर्छ । त्यसकारण हामी सबै युवाले भन्नुपर्छ, ‘आजलाई र भोलीलाई, व्यक्तिलाई होइन विधिलाई, नेपाल कम्युनिष्ट पार्टीको नीतिलाई, आइएमविथ नेकपा ।’
विधि मै टेकेर , नेकपा मोरङ सदस्य , बिद्यार्थी को ccm अनि सामाजिक बिकास मन्त्रालय को बिज्ञ अनि management पडेर engineering consultancy को मालिक भनेर देश भरी , थर्काउदै हिड हुने उहाँले चाहिँ?? आफू लुट्न नि नछोड्ने अनि ओलिलाई गाली गर्न नि नछोड्ने??सुनाई दिनु होला कोहि निकट भए