दमक । मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) खारेजीको माग गर्दै झापाको दमकमा युवाहरुले शनिबार प्रदर्शन गरेका छन् । स्वतन्त्र युवाहरूको समूहले दमकमा शान्तिपूर्ण रूपमा मौन विरोध प्रदर्शन गरेको हो ।
एमसीसी राष्ट्रघाती भएको र कुनैपनि हालतमा यो संघीय सांसदबाट पास गर्न नहुने भन्दै युवा समूहले प्रदर्शन गरेका हुन् । एमसीसीको नाममा देशको स्वाभिमान, सार्वभौमिकता र भौगोलिक अखण्डतामा सम्झौता गर्न नहुने भन्दै प्रदर्शन गरिएको हो ।
युवाहरूले कोरोनाको माहामारीलाई ध्यानमा राख्दै विभिन्न सुरक्षाका उपायहरू अपनाई, आवश्यक सामाजिक दूरी कायम गरेर प्रदर्शन गरेका जनाएका छन् । ‘हामी चाहिँ पढेर एमसीसीको विरोध गर्न आएका’, ‘गरे सबैले सार्थक पहल बन्छ, आफ्नै पहलमा बन्छ महल’, ‘एमसीसी खारेज गर’ लगायतका नाराहरू लेखिएका प्लेकार्डहरू बोकेर विरोध जनाएका थिए ।