किसानको बारीमा स्थानीय सरकार

बेलबारी । मोरङको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द सुवेदी र उप–प्रमुख ढाका कुमारी पराजुलीले कृषकहरुको बारी निरीक्षण गर्नुभएको छ ।

महिलाहरुद्वारा गरिएको व्यावसायिक करेला खेती हेर्न शनिबार उहाँहरु कृषकहरुको बारी पुग्नुभएको थियो ।

बेलबारी नगरपालिकाले वडा–४ को कृषक पाठशालामार्फत २५ भन्दा बढी महिलाहरुलाई व्यावसायिक तरकारी खेती गर्न सिकाएको थियो । सोही अनुरुप हाल बेलबारीका महिलाहरुले आर्थिक तथा प्राविधिक सहयोगमा व्यावसायिक करेला खेती गरिरहेका छन् ।

कृषक वर्गको उत्पादन उत्साहजनक रहेको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । उहाँले सामुहिक खेतीलाई थप प्रोत्साहन गर्न आवश्यक सहयोगका लागि नगरपालिका सदैव तत्पर रहेको बताउनुभएको छ ।

उन्नत जातका बिउ, बिजन र बिरुवा लगायतका यान्त्रिक उपकरण वितरण गर्नुहुँदै उप–प्रमुख ढाकाकुमारी पराजुलीले सबैलाई व्यासायिक कृषिसँग जोडिन आग्रह गर्नुभयो । बेलबारी नगरपालिकाले कृषि क्षेत्रको विकास र विस्तारका लागी थोरै लगानीमा धेरै उत्पादन हुने गरि कृषक पाठशाला नै स्थापना गरि व्यावसायिक कृषिको प्रशिक्षणमा जोड दिएको छ ।

आइतबार, ०७ असार, २०७७, बिहानको ०७:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर