शनिबार प्रतिनिधिसभाबाट नेपालको नयाँ नक्सा समेटिएको निशान छाप संशोधन गर्ने ऐतिहासिक प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । यो आम नेपाली जनताको लागि गौरव र ऐतिहासिक महत्वको विषय हो । कुनै समय पूर्वमा टिष्टादेखि पश्चिममा काँकडासम्म फैलिएको नेपाल सुगौलि सन्धीपछि मेची र महाकालीमा खुम्चिएको थियो । उक्त भूमि पनि विगतका शासकहरुले रक्षा गर्न नसक्दा भारतले अतिक्रमण गरी आफ्नो नियन्त्रणमा लिएको थियो । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूगोलहरु नेपालकै भएको ऐतिहासिक तथ्य र प्रमाणहरु भएपनि हाम्रो आफ्नै नक्सामा ति भूगोल नसमेटिएको बिडम्बनायुक्त विगतलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको पहलमा सबै राजनीतिक दलहरु र आम नागरिकको साथले सच्याएको छ ।
नेपाली भूमि अतिक्रमण गर्ने, नेपाली भूमिका सैन्य क्याम्प राख्ने र नेपाली भूमिमा सडक निर्माणगर्ने भारतको कार्य हस्तक्षेपकारी र अस्वीकार्य छ । नयाँ नक्सा जारी भइसकेको सन्दर्भमा अब कुटनीतिक पहल र वार्तालाई व्यापक बनाएर आफ्नो भूमि फिर्ता ल्याउनु पर्छ । त्यसका लागि सरकारले प्रभावकारी कदम अगाडि सार्न आवश्यक छ । नक्सा सार्वजनिक हुनु भूमि प्राप्तीको दिशामा एउटा पहलकदमी भएको छ । भूमि प्राप्त भइसकेपछि मात्र यसले सार्थकता पाउनेछ । यसमा सबै राजनीतिक दल र आम नागरिकको पनि साथ आवश्यक छ ।
नयाँ नक्सा समेटिएको निशान छाप पारित गर्ने प्रतिनिधिसभा बैठकमा उपस्थित भएर मतदान गर्न नपाउँदा मलाई अत्यन्त दुःख र पीडाको अनुभूति भएको छ । म आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि राहत व्यवस्थापन र विकासका केही आयोजनाको काममा सहभागी हुन पार्टी संसदीय दललाई जानकारी गराएरै एकसाता अगाडि विराटनगर आएको थिएँ । संविधान संशोधनमा तत्काल मतदान भइहाल्छ भन्ने जानकारी नराख्दा र पार्टी ह्वीपबारे अघिल्लो दिनमात्र थाहा पाएको कारण काठमाडौं फर्किन सकिन । यसमा मेरो कमजोरी रहेको स्वीकार गर्दछु । काठमाडौं जाँदा पनि जिल्लामा पुगेर फर्किएका सांसदले पुनः पिसिआर परीक्षण गरी रिपोर्ट लिएपछि मात्र संसद भवनमा छिर्न पाउने प्रावधान रहेकोले काठमाडौं पुगेर पनि संसदमा प्रवेश पाउने समय र अवस्था मेरो नभएकोले म संविधान संशोधनमा मतदान गर्नबाट वञ्चित भएँ । यो ऐतिहासिक अवसर गुमाउनु परेकोमा मलाई दुःख र पीडा छ । म आम नेपाली नागरिक र मेरो अनुपस्थितिबारे जिज्ञासा राख्ने सबैप्रति माफी चाहँदै मेरो कुनै गलत नियतले अनुपस्थित नभएको व्यहोरा स्पष्ट पार्न चाहन्छु ।


























1 प्रतिक्रिया
1 प्रतिक्रिया
शिव जी ।तपाइ नेपाली जनताकाे प्रतिनीधि हाे। तपाइ राष्ट्र र जनता प्रति उत्तिकै जिम्मेवार र जवाफदेहि हुनैपर्छ ।याे वा त्याे बहानामा राष्ट्र र जनताले चाहेकाे भुमिका बाट भाग्नै हुदैन ।देशले अत्यन्त राष्ट्रीय महत्वकाे बिषयमा संसदमा मत बिभाजनकाे प्रकृया द्वारा छिनाेफानाे गरीरहेका बेला तपाइ सकुशल आफ्नाे गृहनगरमा कसरी बस्न सक्नु भयाे ? मत बिभाजनकाे कार्यसूची थाहा नपाएकाे वा संसदीय दलका उप नेता वा प्रमुख सचेतककाे ह्विप पछि काठमाडाै फर्कने समय नमिलेकाे भन्ने जस्ता बहानाले तपाइ दाेष मुक्त हुनुहु्न्न । तपाइकाे राजनैतिक जीवन भरी यसकाे जायज उत्तर जनताले र राष्ट्रले मागीरहने छन् ।
प्रतिक्रियाहरू बन्द छन्।