काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज भएपनि विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ का कारण यो वर्ष एसईई परीक्षा नलिने निर्णय गरेको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा खारेज भएपनि विद्यार्थीहरुलाई बोर्डले नै प्रमाणपत्र उपलब्ध गराउने जानकारी दिनुभयो । विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय भएको बताउँदै उहाँले थप विवरण सम्बन्धित निकायहरूले उपलब्ध गराउने उल्लेख गर्नुभयो ।
कोभिड–१९ को महामारीका कारण देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, विद्यालयहरूमा क्वारेन्टिन सञ्चालन गरिएको र कोरोना संक्रमणको जोखिमका बीच विद्यालयहरूमा परीक्षा केन्द्र कायम गरी विगतमा झै परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेकोले परीक्षा खारेज गरिएको मन्त्री पोखरेलको भनाइ छ । माध्यमिक शिक्षाको कक्षा दशको अन्तिम परीक्षाका सम्बन्धमा दीर्घकालीन रुपमा व्यवस्थापन गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभएको छ ।
२०७६ चैत ६ गतेदेखि सञ्चालन हुने गरी प्रकाशित परीक्षा कोरोना त्रासको कारण ५ चैतमा स्थगन गरिएको थियो । देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।