बिराटनगर । कोरोना भाइरस संक्रमणको महामारीसँगै जारी लकडाउनका कारण हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय सरकारले गरेको छ ।
परीक्षा गर्नुपर्ने समय धेरै टाढा रहिसकेकाले यसपालि विद्यालयको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्ने निर्णय सरकारले गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा परीक्षा हुने निर्णय भएको हो।
लामो छलफल र अध्ययनपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एसइई परीक्षा नलिने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजानुभएको थियो । सरोकारवालाले एसइई परिक्षा अनावश्यक रहेको भन्दै खारेज गर्न माग गर्दै आएका छन ।
अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।
गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।