हुलास पानी उद्योगलाई २ लाख जरिवाना

विराटनगर । विराटनगर १५ रानीस्थित हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिले उत्पादन गर्दै आएको प्रशोधित ‘हुलास’ पानीमा बढी मूल्य लिएर विक्री गरेको पाइएपछि वाणिज्य कार्यालयले कारबाही गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा गएको टोलीले २ लाख रूपैयाँ जरिवनासहित हुलासलाई कारबाही गरेको हो ।

हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालि विराटनगरले १ लिटरको मिनरल वाटर होलसेल पसललाई १२.९१ रुपैयाँमा म्याट विल काटेर विक्री गर्दै आएको छ । सोही पानी उपभोक्तालाई बिक्री गर्दा बोतलमा ३० रुपैयाँ मूल्य उल्लेख गरिएको छ ।

वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयले हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिले गलत एमआरपी उल्लेख गरी अनुचित कार्य गरेको ठहर गर्दै कारवाहीको दायरामा ल्याएको हो ।

यसअघि प्रशोधित पानी उत्पादन व्यवसायी संघ र जिल्ला प्रशासन कार्यालय मोरङमा तत्कालिन प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद कोइरालाको नेतृत्वमा एक लिटरको मिनिरल वाटरको एमआरपी मुल्य २० रुपैयाँ र प्रतिजार ७० रुपैयाँ भन्दा बढी एमआरपी मुल्य राख्न नपाइने सहमति गराएको थियो ।

उक्त सहमतिमा हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिका संचालकको पनि उपस्थिति रहेको थियो । उत्पादन लागत मूल्यभन्दा दोब्बर बढी मूल्य राखेर हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिले विक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन अनुसार कारवाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख तथा निरीक्षण अधिकृत हिमालय बरालले जानकारी दिनुभयो ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ मा कुनै पनि निकायले अनुचित व्यवसाय जन्य क्रियाकलाप गर्न नहुने उल्लेख गरिएको छ । अनुगमनको क्रममा अनुचित कार्य गरेको फेला परेपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को ‘ङ’ बमोजिम हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिलाई कारवाही गरिएको कार्यालय प्रमुख बरालको भनाइ छ । कार्यालय प्रमुख बरालले अन्य पानी व्यवसायीहरुलाई पनि उचित मूल्य निर्धारण गरी प्रशोधित पानी विक्री वितरण गर्न निर्देशन पनि दिनुभएको छ । ‘उपभोक्ताहरूबाट पानीको गुनासो आएपछि अनुगमन गरिएको हो,’ उहाँले भन्नुभयो, ‘अन्यमा पनि यसरी नै अनुगमनलाई तिव्रता दिनेछौं ।’

बुधबार, २८ जेठ, २०७७, साँझको ०७:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर