काठमाडौं। कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएकाहरुलाई पीसीआर परीक्षणविनै घर पठाउन थालिएको छ ।
बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका रुपन्देहीका १८ र कपिलवस्तुका ९ जनालाई कोरोना परीक्षणविनै घर पठाइएको हो ।
यसअघि १४ दिन अस्पतालको आइसोलेसन राखेर पीसीआर परीक्षण गरि दुई पटक नेगेटिभ रिपोर्ट आएपछि मात्रै अस्पतालबाट डिस्चार्ज गर्ने गरिएको थियो । तर, स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार कोरोनासँग मिल्दो लक्षण नदेखिएकाले परीक्षणविनै डिस्चार्ज गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।
सरकारले जेठ २० गते जारी गरेको निर्देशिका अनुरुप पीसीआर परीक्षण नगरी घर पठाइएको हो । घर पठाइएकालाई स्थानीय तहका स्वास्थ्य केन्द्रले निगरानी गर्ने भएकाले अन्यथा लिन नहुने अस्पतालको दावी छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लक्षण देखिएका संक्रमितलाई मात्रै अस्पतालमा राख्ने नीति अघि सारेको छ । पिसिआर परीक्षणको दायरा विस्तार गर्नुपर्नेमा क्वारेन्टाइनमा बसेकाको परीक्षण नै नगर्ने र गर्दा पनि आरडिटी गरेपछि पोजेटिभ रिपोट आएकाहरुको मात्र पिसिआर गर्ने सरकारले नीति लिएको छ । यस्तै आइसोलेसनमा बसेका संक्रमितको पनि पीसीआर परीक्षण नगरी डिस्चार्ज गर्न थालिएको छ ।
संक्रमित भएको एक महिनाभन्दा बढि समयपछि पनि कोरोना सक्रिय रहेको र अर्को व्यक्तिमा सरेको पुष्टि भइरहँदा सरकारले १४ दिन आइसोलेसनमा रहेका विरामीलाई परीक्षणविना घर पठाएपछि संक्रमण झनै फैलने खतरा बढेको छ । यसअघि झापाको दमकमा विदेशबाट एक महिना अगाडि आएका युवाबाट उनको बाबुमा कोरोना सरेको पुष्टि भएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।