विराटनगर । लकडाउनको उल्लंघन गर्दै विराटनगरस्थित पोखरीया माध्यामिक विद्यालयले विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिएको घटना ढाकछोप गर्न खोजेको निजी विद्यालय सम्बद्ध चार संगठनले दावी गरेका छन् ।
हिसान मोरङ, एन प्याब्सन विराटनगर, इष्टु मोरङ र प्याब्सन विराटनगरले शनिबार संयुक्त रूपमा विज्ञाप्ती जारी गर्दै आफ्नो गलत काम ढाकछोप गर्न पोखरीयाले अरुलाई आरोप लगाएको दावी गरेका हुन् ।
कोरोना भाइरसको महामारीले आक्रान्त भएका बेला विद्यार्थी भेला गरि प्रवेश परीक्षा सञ्चालन गरिरहेको अवस्थामा प्याब्सन विराटनगरका नगर अध्यक्ष ईन्द्रकुमार राईले यस्तो अप्रिय र जोखिमपूर्ण कार्य गरी समुदायमै रोग फैलाउने सुत्रधार नबन्न विद्यालयका जिम्मेवार ब्यक्तिलाई अनुरोध गरेको विज्ञप्तिमा जनाइएको छ । राईको अनुरोध तिरस्कार गर्दै परीक्षा सञ्चालन गरेको पोखरियाले उल्टै राईमाथि ब्यक्तिगत रुपमा अशोभनीय र निराधार आरोप लगाएकोमा आपत्ती जनाइएको छ ।
कोरोनाको महामारीको बेला विद्यार्थी भर्ना सम्वन्धी कुनै पनि कार्य नगर्न नगराउन सरकारले निर्देशन दिएको अवस्थामा त्यसको ठाडो उल्लङ्घन गरी
परीक्षा लिने पोखरियाले आफ्नो निकृष्ट कार्यको ढाकछोप गर्ने प्रयास गैरजिम्मेवार निन्दनीय कार्य भएको विज्ञाप्तीमा भनिएको छ । असंवेदनशील चरित्र प्रदर्शन गर्ने उक्त विद्यालयलाई नियमानुसार कडा कारवाही गर्न पनि माग उनीहरुले माग गरेका छन् ।
सरकारले लकडाउन अगाडिदेखि नै सबै शैक्षिक संस्था बन्द गरी कुनैपनि गतिबिधि नगर्न निर्देशन दिएको भएपनि पोखरीया स्कूलले बिहीबार नयाँ विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा लिएको दावी निजी विद्यालयले लगाउँदै आएका छन् । पोखरियाले भने परीक्षा नलिएको बरु पुस्तक वितरणको लागि विद्यार्थीलाई फारम मात्र भराएको जिकिर गर्दै आएको छ ।
लकडाउन उल्लंघन गर्दै विराटनगरका सामुदायिक विद्यालयले प्रवेश परीक्षा लिएको भन्दै निजी विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले आपत्ती जनाएपछि शुक्रबार पोखरीया स्कूलले विज्ञप्ती जारी गर्दै आरोप निराधार भएको बताएको थियो । त्यसको पुनः चार संगठनले प्रतिवाद गरेका हुन् ।