संक्रमितहरु भागेपछि प्रहरीलाई हैरानी

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रवार फरार भएका सङ्क्रमितलाई प्रहरीले राति र शनिबार विहान नियन्त्रणमा लिएको छ।

नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टाइनमा रहेका १३ सङ्क्रमितमध्ये सबै फरार भएकोमा १२ जनालाई राति र एक जनालाई शनिबार विहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

सङ्क्रमित पुष्टि भएपछि आइसोलेशन केन्द्रमा व्यवस्थापनका लागि नेपालगञ्जबाट एम्बुलेन्ससहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली नरैनापुर पुग्दा स्थानीयवासीले अवरोध गरेका थिए । त्यसपछि फरार भएका १२ सङ्क्रमितलाई राति १२ बजे नेपालगञ्ज ल्याएपनि एक जना फरार भएकालाई खोज्न रातभर लागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो।

स्थानीयको गलत बुझाई र जनप्रतिनिधिकै असहयोगले नरैनापुरबाट सङ्क्रमितलाई ल्याउन समस्या भइरहेको प्रहरीको भनाइ छ । नरैनापुरको अर्को विद्यालयमा रहेका क्वारेन्टिनमा एकसहित शुक्रबार मात्रै नरैनापुरमा १३ र राप्तीसोनारीमा एक गरी बाँकेमा १४ सङ्क्रमित थपिएको छ ।

सदरमुकाम नेपालगञ्जबाट ३५ किलोमिटर दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुर मात्रै ८७ सङ्क्रमित भेटिएका छन् । भागेका संक्रमितलाई यो सरुवा रोग र घरमा जान हुन्न भनेर थाहा भएपनि अज्ञानता र अफवाहको कारण भागेको प्रहरीको बुझाइ छ ।

अस्पताल लैजाने बाहानामा गलत औषधी दिएर मार्छ वा गोली हानेर मार्छ भन्ने गलत धारणा स्थानीयमा रहेको छ । केही दिन पहिले पनि नरैनापुरमा संक्रमितलाई ल्याउन खोज्दा स्थानीयले प्रतिकार नै गरेका थिए ।

नेपालगञ्ज लैजान दिनु हुँदैन, यो सरकारको षड्यन्त्र हो, हाम्रा बालबच्चा मार्नलाई लगिँदैछ, हामी सबै प्रतिकारमा उत्रिनुपर्छ भन्दै गाउँका केही व्यक्तिले माइकिङ गरेकोले समस्या भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । उहाँले अफवाह फैलाउनेलाई कारबाहीको मागसमेत गर्नुभएको छ ।

बाँके प्रहरी प्रमुख एसपी वलीले स्थानीय संक्रमितलाई लैजान दिदैनौं भन्दै प्रदर्शनमा उत्रिदा जनप्रतिनिधि स्थानीयलाई सम्झाउन नआउने गरेको बताउनुभयो । शुक्रबार बेलुका ८ बजेदेखि ३ बजेसम्म प्रहरी भागेका संक्रमितहरुको खोजीमा लाग्दा जनप्रतिनिधि कोही पनि नआएको उहाँको भनाइ छ ।

शनिबार, १० जेठ, २०७७, बिहानको १०:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर