विराटनगर । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले नेपाली भूमि अतिक्रमण गरेको घटनाको विरोधमा सरकारले तत्काल कदम चाल्नु पर्ने बताउनुभएको छ ।
भारतले नेपाली भूमि हुँदै चीनको मानसरोवर जोड्ने बाटो एकतर्फिरुपमा बनाएपछि प्रवक्ता श्रेष्ठले भारतीय कदमको भर्त्सना पनि गर्नुभएको छ ।
श्रेष्ठले ट्वीटर मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भन्नुभएको छ, ‘भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्विकार गरेको पश्चिम सीमाक्षेत्रको नेपाली भूमिमा सडक बनाइ हिँजो उदघाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भत्र्सना गर्दछु । हामी सबै कोरोनाविरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुध्द सरकारले तु कदम चालोस् ।’
भारतले उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपाली भूमि दर्चुलाको जुन्जी क्षेत्र र लिपुलेक हुँदै तिब्बत जोड्ने सडक शुक्रबार उद्घाटन गरेको हो । सो सडकको भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत उदघाटन गरेका थिए ।
नेपाल सरकारले अहिलेसम्म त्यस घटनालाई लिएर कुनै धारणा सार्वजनिक गरेको छैन । सरकारको तर्फबाट कुनै धारणा सार्वजनिक नभएपछि प्रवक्ता श्रेष्ठले सरकारलाई भारतीय कदमको विरोधका लागि दवाव दिनुभएको हो ।