इटहरी । कोशी व्यारेजको सप्तरीतर्फ एक प्राथमिक विद्यालयको क्वारेन्टाइनस्थलबाट १९ जना भारतीय नागरिक भागेका छन् ।
हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहको क्वारेन्टाइनमा डेढ सातादेखि बसेका ७२ भारतीय नागरिकमध्ये १९ जना भागेका हुन् ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले १९ जना वेपत्ता भएकै विषयमा अनुसन्धान सुरु भएको बताउनुभएको छ । प्रहरीको घेराबाट उनीहरु कसरी बेपत्ता भए भन्ने अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
नेपालको विभिन्न भागबाट भारतको पश्चिम बंगाल र बिहार राज्यस्थित घर फर्किंदै गरेका उनीहरुलाई १ नम्बर प्रदेशमा प्रवेश नदिइएपछि दुई सातादेखि क्वारेन्टाइनमा राखिएको थियो । बुधबार राति एउटा कोठामा रहेका १९ जना गायब भएको सूचना क्वारेन्टाइनमा रहेका अन्यले बिहीबार बिहानमात्र थाहा पाएका थिए ।
क्वारेन्टाइनमा राखिएका ७२ जनाको निगरानी १० जना सुरक्षाकर्मीले गर्दै आएका थिए । ती भारतीय नागरिकको व्यवस्थापन स्थानीय तहले गर्दै आएको थियो ।
प्रहरीकै सहयोगमा उनीहरुलाई भारततर्फ पठाइएको आशंकामा छानविन सुरु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हो ।कोशी नदीबाट डुंगामार्फत रक्सी, लागूऔषध, गुट्खासहितका सामान लकडाउनको समयमा पनि तस्करी हुन थालेपछि प्रहरीकै अगुवाइमा केही दिनअघि सबै डुंगामा ताला लगाएको थियो । घटनापछि हाल इलाका प्रहरी कार्यालय भारदहका प्रमुख सई सागीर राइनलाई जिल्ला प्रहरी कार्यालय राजविराज तानिएको छ ।
भागेकाहरुको कोरोना परीक्षण पनि गरिएको थिएन । यसले नेपाली बस्तीतर्फ जोखिम बढेको स्थानीयले बताएका छन् ।

