विराटनगर । बन्दबन्दीका कारणले बन्द भएका चालु वर्षका साना तथा मझौला केही निर्माण योजनाहरु सुचारु हुन थालेका छन् ।
नेपाल सरकारले तय गरेको स्वास्थ्य सम्वन्धी आधारहरु पालना गर्ने प्रतिवद्धता जनाएर उपभोक्ता समिति तथा निर्माण कम्पनीहरुले कामलाई अगाडि बढाएका हुन् । सरकारसँग सम्झौता गरेर रोकिएका योजनाहरुलाई निरन्तरतासँगै मजदुरहरुले रोजगारी पाएका छन् भने उनीहरुको दैनिकी समस्या पनि केही हदसम्म जसमाधान हुने देखिएको छ ।
आयोजना सम्झौता गर्ने निकायको सिफारिसमा त्यस्ता निर्माण योजनाहरु अघि बढेका हुन् । योजना सम्पन्न गर्नुपर्ने आवश्यकता र सञ्चालन नगर्दा हुने नोक्सानीको बारेमा ति निकायले स्थानीय प्रशासनलाई सिफारिस गरेपछि आवश्यक सामग्ी ढुवानीका लागि जिल्ला प्रशासन कार्यालयले सहजिकरण गर्ने गरेको छ ।
पूर्वाधार निर्माण तर्फका कामलाई सुचारु गर्ने प्रदेश सरकारको योजना अनुसार स्थानीय प्रशासनले निर्माण कार्यमा सहजीकरण गरिरहेको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभएको छ । उहाँले योजना सञ्चालन गर्ने सम्वन्धीत निकायको सिफारिसमा सबै स्वास्थ्य सम्वन्धि मापदण्ड पुरा गर्ने प्रतिवद्धता प्राप्त भएपछि आवश्यक सामग्री ल्याउनका लागि सवारी साधन सञ्चालन गर्ने अनुमति प्रदान गरिरहेको बताउनुभयो ।

सोमबार सम्म जिल्ला प्रशासन कार्यालय मोरङबाट अत्यावश्यक सेवा तथा निर्माण कार्यका लागि करिव ४ सय सवारी साधन सञ्चालनका लागि अनुमति प्रदान गरिएको छ । ति साधनहरुले कुन सामान कटि पटक ओसार्ने हो त्यसको पूर्ण विवरण प्रशासन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसको अनुगमन गर्ने जिम्मेवारी आयोजना सञ्चालन गर्ने कार्यालयलाई नै दिइएको प्रमुख जिल्ला अधिकारी भुजेलले जानकारी दिनुभयो ।
चालु वर्षमा सम्पन्न गर्नै पर्ने, पुरा गर्नुपर्ने अधुरा योजनाहरु तथा सहजरुपमा सम्पन्न गर्न सकिने योजनाहरु सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । तर त्यसरी योजना सञ्चालनका लागि स्थानीय प्रशासनले सहजिकरण गरिरहेको भएपनि धेरै स्थानीय तहबाट भने निर्माण सामग्री ढुवानीका लागि सवारी साधन सञ्चालनको अनुमति माग नभएको प्रमुख जिल्ला अधिकारीले जानकारी गराउनुभएको छ ।

प्रदेश सरकारले ठूला, बहुवर्षीय प्रकृतिका योजनाहरु र चालु आर्थिक वर्षमा सम्पन्न गर्नैपर्ने योजनाहरु सबै स्वास्थ्य मापदण्डहरु अवलवम्न गर्दै सञ्चालन गर्ने निर्णय गरेपछि पूर्वाधार तर्फका कामले बिस्तारै गति लिन थालेको छ । विराटनगर विराटचोक चार लेन सडकको रोकिएको निर्माण कार्य सुचारु भएको छ भने पूर्वाधार विकास कार्यालय मोरङको दुई दर्जन बढी योजना बन्दाबन्दीकै बीचमा पनि सुचारु भएका छन् । केही योजनाहरु अघि बढ्ने क्रममा रहेको बताइएको छ ।
संघीय सरकारको तर्फबाट पुल, सडक निर्माण र ममर्तका कामहरु पनि अघि बढेका छन् । अहिले मोरङ सुनसरी जोड्ने दुहबी स्थित बुढीखोलाको पुल निर्माणले गति लिएको छ । त्यस्तै छ लेन सडक पनि विभिन्न खण्डमा अघि बढेको छ । त्यस्बाहेक स्थानीय सरकारले चालु वर्षमा अगाडि बढाएका योजनाहरुलाई निरन्तरता दिन थालेको बताइएको छ । प्रदेश १ ले चालु आथिर्कक वर्षको ९ महिनामा करि ३७ प्रतिशत पूँजीगत खर्च गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।