विराटनगर । देशकै अग्रणी उद्योगी व्यवसायीको संस्था मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले नेपाल बैंकर्स संघका अध्यक्षको अभिव्यक्तिप्रति संयुक्त रुपमा आपत्ती जनाएका छन् ।
मोरङ व्यापार संघमा आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा दुवै संगठनका अध्यक्षहरु प्रकाश मुन्दडा र भीम घिमिरेले बैकर्स एशोसिएसनका अध्यक्ष भुवन दाहालले ‘व्यवसायी नाफा लुकाउने भएकाले ब्याज छुट दिनु हुन्न’ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ती जनाएका हुन् ।
‘बैकर्स संघका अध्यक्ष भुवन दाहालको भनाइ उदृत गर्दै ‘व्यवसायी नाफा लुकाउने भएकाले व्याज छुट दिनु हुन्न’ भनेर विभिन्न संचार माध्यममा आइरहेको समाचारप्रति मोरंग व्यापार संघ र उद्योग संगठन मोरंग आपत्ति जनाउंदै उक्त भनाईको घोर भत्र्सना र खेद प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘बंैकर्स एशोसिएनको अध्यक्ष जस्तो जिम्मेवार पदमा बसेर संकटको यस घडीमा गैर जिम्मेवार रुपमा दिइएको अभिव्यक्तिले देशलाई आत्मनिर्भर बनाउँदै वैदेशिक व्यापार घाटा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्र उक्त अभिव्यक्तिको घोर विरोध गर्दछ ।’
दुवै संगठनले लकडाउन जारी भई उद्योग÷व्यवसाय वन्द भएको अवधिदेखि कम्तिमा आगामी ३ वर्ष अवधिको लागि हाल कायम रहेको व्याज दरमा कम्तिमा ५ प्रतिशतले घटाई उद्योग÷व्यवसाय क्षेत्रमा ऋण प्रवाह गर्ने व्यवस्था मिलाउन नेपाल राष्ट्र वैंक समक्ष माग गरेको छ ।
यस्तै नो बिजनेस, नो वर्क, हाउ टु पे ? को सिद्धान्त अनुरुप काम नभएको अवधिको पारिश्रमिक भुक्तानी गर्न न्यायोचित नहुने एवम् व्यवहारिकरुपमा पनि भुक्तानी गर्न नसकिने स्पष्ट पार्दै सोही अनुसारको व्यवस्थाका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
उद्योग÷व्यवसाय क्षेत्रबाट भएको मानवीय सहयोग तथा यस क्षेत्रले आर्थिक विकासमा गरेको योगदानलाई नजरअन्दाज गरी मजदुरको पारिश्रमिकको विषय र बैंकको ब्याजदरको विषय सम्बोधन नभए लकडाउन अवधि पश्चात उद्योग/व्यवसाय संचालन गर्न नसकिने पनि दुवै संगठनले जनाएका छन् ।
दुवै संगठनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमबाट बच्न नेपाल सरकारले अवलम्बन गरेको लकडाउनका कारण उद्योग व्यवसाय, पर्यटन, निर्माण, यातायातलगायत समग्र क्षेत्र नराम्रोसँग प्रभावित भएको जनाएको छ ।