विराटनगर । महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण अधिकांश क्षेत्र बन्द भए पनि मोरङमा केही ठूला आयोजना संचालनमा छन् । लकडाउनको बेला कोरोना भाइरसबाट बच्न सावधानी अपनाएर विकासका ठूलो योजनाहरू संचालनमा आएको हो ।
मोरङको उर्लाबारी–१ स्थित निर्माणधीन मिक्लु खोलाको पुल र किसानचौक टाढी रमिते– आइतबारे सडक निर्माण कार्यले निरन्तरता पाएको छ । कोरोना भाइरसबाट बच्न उच्च सर्तकता अपनाउँदै बाहिरी आवतजावतलाई रोक लगाउँदै कमदारलाई काममा लगाएका छन् ।
उर्लाबारीदेखि मिक्लाजुङ हँुदै पाँचथरको रबि जोड्ने सडक र मिक्लु खोलाको पुल निर्माणको काम धमाधम भइरहेको छ । लकडाउनले सुरुका केही दिन समस्या आए पनि अहिले सरकारी निकायले समेत सहयोग गरेकाले निर्माण कार्यलाई निरन्तरता दिइएको पुलको ठेक्का लिएको महाविर किरातेश्वर जेबीका अनिल कुमार मण्डलले जानकारी दिनुभयो ।
०७८ वैशाखसम्म पुल निर्माण पुरा गरि प्रदेश सरकारलाई हस्तान्तरण गरिने योजना अनुरूप अहिले काम भएको उहाँले बताउनु भयो । तोकिएको समय अवधि भित्रमा पुल निर्माण पूरा गरिने उहाँको भनाइ छ । ‘त्यही भएर पनि अहिले हामीले कोरोना भाइरसबाट बच्न विशेष सावधानी अपनाएर पुल निर्माणको काममा श्रमिक लगाएर कामलाई अगाडि बढाएका छौं,’ उहाँले भन्नुभयो, ‘स्थानीय श्रमिकलाई काममा लगाएर लकडाउनको समयमा पनि काम गरिएको हो ।’
उहाँका अनुसार हालसम्म पुलको ३० प्रतिशत निर्माण पूरा भएको जानकारी दिनुभयो । पुलको ‘अपस्टिेन’ र ‘डाउन स्टिेप’ को कटपको काम सकिएको छ । मंगलबार मात्र पुल भुई ढलाइ भएको छ । १ नं. प्रदेश सरकारले निर्माण गरेको उक्त पुलको कूल लागत ७ करोड ३४ लाख रुपैयाँ रहेको छ । पुलको ९२.८ मिटर लम्बाइ र साँढे १० मिटर चौडाइ छ ।
यस्तै किसानचौक–टाँढी–रमिते–आइतबारे सडक निर्माणको काम पनि अहिले चलिरहेको पूर्वाधार विकास मन्त्रालय प्रदेश १ का इन्जिनियर राजेश्वर महतोले जानकारी दिनुभयो । सरकारको लकडाउनको नियमलाई पूर्ण रूपमा पालना गराउँदै विशेष सावधानी अपनाएर ठूला विकासको योजनाहरूको काम भइरहेको उहाँले बताउनु भयो ।
लकडाउनको बेला पनि किसानचौक, टाँढी रमिते– आइतबारे सडक निर्माणको काम अहिले पनि धमाधम भइरहेको त्यहाँ स्थानीय कामदारले काम गरिरहेको भिमेश्वर कम्पनीका निर्देशक सहदेव खड्काले जानकारी दिनुभयो । उक्त सडक साढे २० किलोमिटरको ठेक्का भिमेश्वर कम्पनीले ५८ करोड ५६ लाखमा ठेक्का पाएको हो । २०७६ मंसिर ७ गते प्रदेश १ सरकारसँग सम्झौता भइ काम सुचारू गरेको छ । ०७८ मंसिर ६ गते सडक निर्माण पूरा गरि प्रदेश सरकारलाई हस्तान्तरण गरिने उहाँको भनाइ छ ।
‘अहिलेसम्म २२ प्रतिशत काम पूरा भएको छ,’ उहाँले भन्नुभयो, ‘असार मसान्तसम्म ४० प्रशित काम पूरा हुनेछ । सम्झौता अवधिमा सडकको निर्माण पूरा गरी सरकारलाई हस्तान्तरण गर्नेछौं ।’ उहाँका अनुसार अहिले साइड क्लियरको काम भइरहेको छ । अहिले लकडाउनका कारण बिहानदेखि साँझसम्मै काम भइरहेको छ ।
प्रदेश सभा सदस्य कुलप्रसाद साम्बाले नेपाल सरकारको लकडाउनको नियमलाई पूर्ण रूपमा पालना गर्दै मोरङसहित प्रदेशमा विकास निर्माणको काम भइरहेको बताउनु भयो । ‘अहिले ठूला योजनाहरूको काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘पछि वर्षाको समयमा पुल निर्माणमा अवरोध पुग्ने भएकोले अहिले मिक्लु खोलाको पुल र सडक निर्माणमा लकडाउनको समयमा पनि सावधानी अपनाए काम गर्ने बातवरण तय गरिएको हो ।’
प्रदेशसभा सदस्य साम्बाले पुल निर्माण भएपछि यहाँका स्थानीयलाई राहत हुने बताउनु भयो । पुल बनेपछि बाढी आएपनि स्थानीयलाई आवत–जावतमा समस्या नहुने उहाँले बताउनु भयो । बन्दै गरेको सडक र पुल साम्बाको निर्वाचन क्षेत्र हो । आफ्नो कार्यकालमा किसानचोक–टाँढी–रमिते–आइतबारेसम्मको दुई लेनको सडक र मिक्लु खोलामा पुल निर्माण पुरा हुने प्रदेशसभा सदस्य सम्बाको भनाइ छ ।