लकडाउनबीच प्रदेश १ को बजेट ६० प्रतिशत खर्च हुने

विराटनगर । प्रदेश नं। १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले कोरोना भाइरसको कारण लकडाउन हुँदा विकास निर्माणको काम प्रभावित भएपनि पूँजीगत खर्च गत वर्षभन्दा बढि हुने बताउनुभएको छ ।

अहिलेसम्म ४० प्रतिशत खर्च भइसकेको, कतिपय कामको भुक्तानी हुन बाँकी रहेको र लकडाउनको बेला पनि विकासे आयोजनाको काम सुरु गरिएकोले पूँजीगत खर्च निरासाजनक नहुने मन्त्री आङ्बोको भनाइ छ ।

बुधबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री आङ्बोले अहिलेसम्मको अवस्था हेर्दा यो वर्ष करिब ६० प्रतिशत खर्च हुने देखिएको बताउनुभयो । गत वर्ष प्रदेश सरकारले ५९ प्रतिशत हाराहारीमा बजेट खर्च गरेको थियो ।

चालु आर्थिक वर्षमा ४२ अर्बको बजेट ल्याएको प्रदेश सरकारले दोस्रो चौमासिकसम्ममा अन्य प्रदेश र संघीय सरकारको भन्दा राम्रो खर्च गरेको थियो । कोरोनाको कारण लकडाउन हुँदा चैतदेखि विकास आयोजनको काम प्रभावित भएको भएपनि अब महत्वपूर्ण आयोजना, चालु वर्षमा सक्नुपर्ने आयोजना र यहि वर्ष नसकेमा क्षति हुने खालका आयोजनाको काम स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर सुरु गरिएको मन्त्री आङ्बोले बताउनुभयो ।

प्रदेश सरकारले २ करोडदेखि डेढ अर्बसम्मका ३०० बहुवर्षीय योजनाहरु सञ्चालन गरेको जानकारी दिँदै मन्त्री आङ्बोले ती आयोजनाको कामले निरन्तरता पाउने बताउनुभयो । कोरोनाको कारण समग्र आर्थिक क्षेत्रमा असर परेकोले खर्च कटौती गर्न विभिन्न १२ शिर्षकको बजेट खर्च गर्न रोक लगाएको उहाँको भनाइ छ ।

कोरोनाको कारण आगामी वर्षको बजेटको आकार घट्ने देखिएको जानकारी दिँदै मन्त्री आङ्बोले मुख्य वहुवर्षीय आयोजनालाई निरन्तरता दिँदै आगामी वर्षको बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताउनुभयो । हजारौं युवाहरु विदेश र सहरबाट रोजगारी गुमाएर गाउँ फर्कने अवस्था रहेकोले उनीहरुलाई स्वरोजगार बनाई ग्रामिण अर्थतन्त्रको विकास गर्न सरकारकाले ध्यान दिने उहाँको भनाइ छ ।

प्रदेश सरकारले बजेट निर्माणको काम अगाडि बढाएको जानकारी दिँदै मन्त्री आङ्बोले एक सातापछि बजेटको आकार निर्धारण गरी मन्त्रालयहरुलाई सिलिङ तोकेर बजेट तयारी गर्न निर्देशन दिने बताउनुभयो ।

बुधबार, १७ बैशाख, २०७७, साँझको ०५:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर