विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर बाबु कार्कीले मातहत जिल्ला प्रहरी कार्यालय प्रमुखहरुलाई भिडियो कन्फ्रेन्स मार्फत निर्देशन दिनुभएको छ ।
उहाँले महामारीको रूपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले गरेको लकडाउनलाई पूर्ण पालना गराउने कार्यमा खटिने प्रहरी कर्मचारीहरुलाई प्रयाप्त ब्रिफिङ गरी आवश्यक सुरक्षाको उपायहरु अपनाएर उपलब्ध सामाग्री सहित फिल्डमा खटिन निर्देशन दिनुभयो ।
उहाँले ड्यूटी खटाउने, पर्चा, पम्प्लेट वितरण तथा माईकिङ गरी जनचेतना जगाउने कार्यमा दत्तचित्त भई लाग्न पनि निर्देशन दिनुभयो । लकडाउनको समय लम्बिदै जाँदा हुनसक्ने घरेलुहिंसा, महिला तथा बालबालिका माथि हुने हिंसाको सम्बन्धमा सजग र सतर्क रही समाजमा पहुँच बढाउन उहाँले जोड दिनुभयो ।
अहिलेको प्रतिकूल अवस्थामा कालो बजारी र कृत्रिम अभाव हुन सक्नेतर्फ बिशेष चनाखो हुन पर्ने डिआइजी कार्कीले बताउनु भयो । ‘नेपाल सरकारबाट जारी भएको ऐन नियम तथा कानूनको परिधिमा रहेर प्राप्त निर्देशनलाई उच्च प्राथमिकतामा राखी शून्य सहनशिलतामा रही काम गरिनु पर्दछ,’ उहाँले भन्नुभयो ।
लकडाउनको अवस्थामा सिमावर्ती क्षेत्रहरुबाट हुन सक्ने चोरी पैठारीलाई रोक्न सिमावर्ती क्षेत्रहरुमा बिशेष ध्यान दिई काम गर्न र क्वारेन्टाईन स्थलहरुमा भरपर्दो सुरक्षा ब्यबस्था मिलाउनसमेत डिआइजी कार्कीले निर्देशन दिनुभयो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरकोे प्रमुख भएर गत शुक्रबार कार्कीले पदभार सम्हाल्नुभएको हो ।