विराटनगर । दैनिक ज्यालादारीमा काम गरेर घरपरिवार चलाउने गरिब तथा विपन्न वर्गका केही परिवारले कोरोना भाइरसको कारण जारी लकडाउनमा पनि रोजगारी पाएका छन् ।
उनीहरुले लकडाउन अवधिभर घरमै बसेर मास्क उत्पादन गर्ने रोजगारी पाएका हुन । लकडाउनको कारण पारिवारिक आयस्रोत शुन्य भएका तथा दुई छाक टार्न हात फैलाउन बाध्य परिवारले यस किसिमको रोजगारी पाउँदा उनीहरूलाई राहत भएको छ । मजदुर नेता तेजलाल कर्णले सञ्चालन गर्नुुुभएको पुर्वेली होजियारी नामक उद्योगमार्फत उनीहरुले घरबसी आम्दानी गर्न मिल्ने खालको रोजगारी पाएका छन् ।
प्रारम्भिक चरणमा विराटनगर महानगरपालिका वडा नं. ३, ४ र ६ का करिब २५ जनाले घरबसी मास्क उत्पादनको रोजगारी पाएको मजदुर नेता तेजलाल कर्णले बताउनुभयो । उहाँले कामदारहरुबाट दैनिक ३० हजार मास्क उत्पादन भईरहेको र उनीहरुले पनि दैनिक १ हजारदेखि १५ सय रुपैयाँ आम्दानी गरिरहेको जानकारी दिनुभयो ।
विराटनगर–४ निवासी प्रमोद कुमार सरकारले लकडाउनको कारण घरपरिवार चलाउन धौधौ परेको अवस्थामा घरबसी काम गर्ने वातावरण सिर्जना भएपछि गुजारा चलाउन सहज भएको बताउनुभयो । त्यस्तै थोकमा ८ रुपैयाँ प्रतिगोटा पर्नेे उक्त सर्जिकल मास्क, पुर्वमा ईलामदेखि पश्चिममा सिराहा सप्तरीसम्म निर्यात हुँदै आएको छ ।
बजारको माग अनुसार मास्कको उत्पादन बढाउन सकिने जनाईएको छ । पूर्वेली होजियारी भने यस अघिदेखि नै पिपिई उत्पादन गरी विराटनगरका विभिन्न अस्पताल तथा प्रदेश नं. १ का विभिन्न जिल्ला प्रहरी कार्यालयहरुलाई बिक्री वितरण गर्दै आएको उद्योग हो ।