पाँचथरमा १२९ जनाको शीघ्र परीक्षण

फिदिम । पाँचथरमा १२९ जनाको शीघ्र डाइग्नोस्टिक परीक्षण सम्पन्न भएको छ ।

विदेशबाट आएका, उनीहरुको सम्पर्कमा पुगेका तथा कोभिड–१९ सँग लक्षण मिल्ने व्यक्तिको डाइग्नोस्टिक परीक्षण गरिएको हो । प्रदेश नं। १ को सामाजिक विकास मन्त्रालय तथा जिल्ला अस्पताल पाँचथरका स्वास्थ्यकर्मी सम्मिलित टोलीले जिल्लाका आठवटै स्थानीय तहमा पुगेर डाइग्नोस्टिक परीक्षण गरेको हो ।

परीक्षणबाट सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । यस्तै डाइग्नोस्टिक परीक्षण गरिएका ११ जनाको स्वाब सङ्कलन गरी थप परीक्षणका लागि विराटनगर लगिएको उक्त कार्यालयले जनाएको छ ।

चैत १ गते यता विदेशबाट नेपाल आई क्वारेन्टाइनमा बसेका व्यक्ति तथा तिनको सम्पर्कमा पुगका व्यक्ति र कोभिड–१९ सँग लक्षण मिल्ने बिरामीको शीघ्र डाइग्नोस्टिक परीक्षण गरिएको हो । परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पुगेको थियो ।

दुई साता क्वारेन्टाइनमा बसिसकेका ब्यक्ति तथा सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिलाई क्वारेन्टाइनमै ल्याई परीक्षण गरिएको थियो । शनिबार शुरु भएको शीघ्र डाइग्नोस्टिक परीक्षण सोमबार सम्पन्न भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमुनि सुवेदीले जानकारी दिनुभयो ।

यहाँको फिदिम नगरपालिकामा आठ जना, फाल्गुनन्द गाउँपालिकामा नौ जना, मिक्लाजुङमा २४ जना, तुम्बेवामा १५ जना, कुम्मायकमा १७, याङवरकमा १९ जना, हिलिहाङमा २४ जना र फालेलुङमा १३ जनाको शीघ्र परीक्षण सम्पन्न भएको हो ।

शीघ्र परीक्षण सम्पन्न भएपछि क्वारेन्टाइनमा दुई साता बिताएका व्यक्तिलाई घर पठाइएको छ । उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न तथा स्वास्थ्यकर्मीको सम्पर्कमा रहन भनिएको स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो । उनीहरुको निगरानी गर्ने जिम्मेवारी नजिकको स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकालाई दिइएको छ ।

दुई साता बिताएका व्यक्तिलाई घर पठाइएपछि अधिकांश क्वारेन्टाइन खाली भएका छन् । जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले शीघ्र परीक्षणबाट सबैको नतिजा नेगेटिभ आए पनि अझै उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले विगतमा विभिन्न स्थानको यात्रा गरेका व्यक्ति तथा सङ्क्रमणको शङ्का लागेका व्यक्तिको स्वास्थ्य परीक्षण आवश्यक रहेको बताउनुभयो । सापकोटाले सीमा क्षेत्रमा कडाइ र लकडाउनको पूर्ण पालनाका लागि सबै पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

मङ्गलबार, ०२ बैशाख, २०७७, साँझको ०६:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर