केराबारीको कोषमा १५ लाख रकम संकलन

केराबारी । कोरोना रोकथाम तथा नियन्त्रणका लागि केराबारी गाउँपालिकाले स्थापना गरेको कोरोना प्रतिकार्य समन्वय समितिको राहत कोषमा १५ लाख वढी रकम संकलन भएको छ ।

केराबारी गाउँपालिकामा आइतबार भएको विपत व्यवस्थापन समितिको बैठकमा गाउँपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद पौड्यालले आइतबार सम्म १५ लाख वढी रकम विभिन्न दाताहरुबाट प्राप्त भएको बताउनुभयो ।

कोरोना प्रतिकार्य समन्वय समिति अन्र्तगत रहेका विपद व्यवस्थापन समितिको कोषमा जनप्रतिनिधिको १५ दिनको तलव २ लाख ८७ हजार ९सय ८३ रुपैयाँ, शिक्षकबाट एक दिन बापत २ लाख ५१ हजार ५ सय ७ रुपैयाँ कर्मचारीबाट १ दिनको ४६ हजार ४९ रुपैया सहित विभिन्न दाताहरुबा सो रकम प्राप्त भएको हो ।

यसवाहेक नेकपा केराबारीबाट १लाख ११ हजार, नेपाली कांग्रेसबाट १ लाख २५ हजार सहित विभिन्न सामुदायिक वन सहकारी संस्था र कम्पनीहरुले समेत रकम सहयोग गरेको छ । गाउँपालिकाको राहत कोषमा जम्मा भएको रकमबाट पहिलो चरणको राहत वितरण गरिएको र हालसम्म राहत वितरणमा १३ लाख २९ हजार ९१ रुपैया खर्च भएको विपत व्यवस्थापन समितिका संयाजक गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले बताउनु भयो ।

दोश्रो चरणको राहत वितरण गर्ने तयारी

केराबारी गाउँपालिकाले पहिलो चरणको राहत वितरण सम्पन्न गरेसंगै दोश्रो चरणको राहत वितरण गर्ने तयारी थालेको छ ।

पहिलो चरणमा वितरण गरिएको राहतबारे गरिएको समिक्षात्मक बैठकमा उपस्थित वडाध्यक्षहरुले केही कमीकमजोरी भएको स्वीकारे पनि जनमानसबाट भने व्यापक गुनासो आएको भन्दै राजनीतिक दलले सचेत भएर राजनीतिक रंगरुपका आधारमा नभई वास्तविक विपन्न परिवार छनौट गर्नुपर्ने टिप्पणी गरेको थिए ।

समिक्षात्मक बैठकमा पालिकाले गरेको निर्णय एकद्धार प्रणालीबारे चर्को आलोचना पछि पालिका अध्यक्ष रोहितबहादुर कार्कीले अबको दिनमा एकद्धार प्रणालीलाई अवलम्बन गर्न राजनीतिक दललाई समेत निर्देशन दिएको बताउनु भयो ।

छिट्फुट वाहेक केही गुनासा आएपनि दोश्रो चरणमा सकेसम्म कमीकमजोरीलाई सच्याउँदै अगाडी वढ्ने र सकेसम्म दोश्रो चरणको राहत वितरणका लागि गाउँपालिकाले ३५ देखि ४० लाखसम्मको विपद कोषमा रकम जम्मा गर्ने तयारीसहित अगाडी वढ्ने बताउनु भयो ।

पहिलो चरणमा गाउँपालिकाले १ हजार ५ सय २० परिवारलाई राहत वितरण गरेको थियो । दोश्रो चरणमा १ हजार देखि १२ सम्म घरपरिवारको नामावली आइसकेको बताउँदै राहतवितरणलाई व्यवस्थित बनाउने अध्यक्ष कार्कीले प्रतिबद्धता जनाउनु भएको थियो ।

नाकाहरु बन्द गर्न निर्देशन

यसैविच कोरोना प्रतिकार्य समन्वय समितिको बैठकमा उपस्थित राजनीतिक दल वुद्धिजीवि तथा जनप्रतिनीधिहरुले केराबारीको नाका पहिचान गरी तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

केराबारी प्रवेश गर्ने विभिन्न नाकाहरु खुल्ला हुदा बाहिरबाट अपरिचित व्यतिmहरु आउने क्रम बढेको भन्दै देवीझोडा लालभित्ती, सुन्दरपुर डाँगी, चोक्टी यांगशिला र खोर्साने केराबारी र सिंहदेवी केराबारी गर्ने प्रवेश गर्ने नाकामा सुरक्षा संयन्त्र र स्थानीय जनप्रतिनिधिको समन्वयमा बन्द गर्न दलका प्रतिनिधिले सुझाएका छन् ।

साथै बजार क्षेत्रमा लक डाउनको उल्लङघन गर्ने क्रम बढेको भन्दै सुरक्षाकर्मीलाई ध्यानाकर्षण गराएको छ । साथै दैनिक खाना नपाएर भोकै भएका परिवारहरुको लागि सूचना संकलन तथा हेल्प डेस्क निर्माण गरी राहत वितरण गर्नसमेत बैठकमा जनप्रतिनिधिहरुले सुझाएका छन् ।

सोमबार, ०१ बैशाख, २०७७, साँझको ०५:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर