उदयपुरबाट २६ जनाको स्वाब धरान पठाईयो

उदयपुर । नेपाली सेनाको १८ नम्वर वाहिनी मातहतको रणशार्दुल गण वेलस्रोत क्याम्प उदयपुरको क्वारेन्टाइनमा रहेका २६ जनाको स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

सरकारले विदेशबाट आएहरुको स्वाब परीक्षण गर्ने निर्णय गरेसँगै सेनाको क्वारेन्टाइनमा रहेको २६ जनाको स्वाब संकलन गरि परीक्षणको लागि धरान पठाइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र कटारी नगरपालिकाको स्वास्थ्य शाखाको संयुक्त टोलीले १५ दिनदेखि क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब संकलन गरेको हो । स्वाब परीक्षण गर्न विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनस्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।

परीक्षणको रिपोर्ट आएपछि मात्र उनीहरुलाई घर पठाउने कि त्यही राख्ने भन्ने यकिन हुनेछ । यसअघिजिल्लाबाट स्वाब परीक्षणका लागि पठाईएका १३ जनाकै कोरोना रिर्पोट नेगेटिभ आएको छ । अहिलेसम्म विदेशबाट आएका ६६ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।

सेनाको क्वारेन्टाइनमा २६ जना, चौदण्डीगढीले बनाएको क्वारेन्टाइनमा ४ जना, त्रियुगा नगरपालिकाको क्वारेन्टाइनमा ८ जना, बेलका नपामा ९, रौतामाई गाउँपालिकामा ११ र लिम्चुङबुङ गाउँपालिकामा ८ जनालाई क्वारेन्टाईनमा राखिएको छ । जिल्लामा दुई सय ८४ जना होम क्वारेन्टाइनमा रहेका छन् ।

शुक्रबार, २८ चैत, २०७६, दिउँसोको १२:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर