लोड हुँदैछ...

मेनु

प्रेस संगठनका सहसंयोजक गणेश बस्नेतले लगाएको आरोपबारे संयोजक महेश्वर दाहाल

गणेश बस्नेतसँगको कुराकानीको यथार्थ

गणेश बस्नेतसँगको कुराकानीको यथार्थ

हाम्रो संगठनका सहसंयोजक गणेश बस्नेतले मैले भनेको भनेर मैले बोल्दै नबोलेको कुरा शुक्रवार राति ९ बजेपछि एउटा स्ट्याटस लेख्नुभएछ । शनिवार विहान उठ्दा धेरै साथीको फोन र मेसेज आएको रहेछ । मैले पढें । आश्चर्यचकित भएँ । सहसंयोजक जस्तो गरिमामय पदमा बसेको जिम्मेवार नेतृत्वले यति अनैतिक र झुटको खेती गर्नुहोला भन्ने मैले कल्पना समेत गरेको थिइनँ ।

म ओछ्यानमा ढल्किएर कोरोना भाइरसको अन्त्यपछि विश्व राजनीतिमा कस्तो प्रभाव पार्ला भनेर एक जना भारतीय लेखकको लेख मोबाइलमा पढ्दै थिएँ । पौने ९ वजेतिर गणेश बस्नेतले मलाई फोन गर्नुभयो । मैले फोन उठाएँ । किन सानो आवाज आयो कमरेड विरामी पर्नुभयो कि के हो भनेर उहाँले सोंध्नुभयो । मैले होइन, म त पल्टेको छु भनें । यसपछि उहाँले एकाएक प्रेस संगठनमा पूर्व प्रेस चौतारी र प्रेस सेन्टर भए भन्नुभयो । मलाई त्यसपछि झोँक चल्यो । कुनै कुरा गर्नुछ भने पहिला आफ्नो नकारात्मक निश्कर्ष निकालेर झगडा गर्ने मुडमा प्रायः कुरा गर्ने तरिकाले हिजो मलाई झोक चलेको थियो । ‘तपाई जहिले पनि बखेडा झिक्नुहुन्छ, मसँग सधैं खेल्नुहुन्छ, यस्ता नकारात्मक कुरा गर्ने ? खेलिरहनेसँग म अब तपाईसँग कुरा गर्दिन’ भनें । त्यसमा मैले पार्टीका अध्यक्ष प्रचण्ड, गृहमन्त्री बादल, नेपाल पत्रकार महासंघ, महासंघका महासचिव रमेश बिष्टको कतै नाम लिएको छैन । महासंघको वक्तव्यको बारेमा उहाँसँग कुरा भएकै छैन ।

शनिबार विहान पौने ९ बजे फोन गरें । उहाँको फोन अफ थियो । मैले उहाँको फोनमा एसएमएस गरें, ‘यस्तो झूटको पराकाष्ठा ।’ त्यसपछि पनि पटक–पटक फोन गरें । विहान धेरै बेरसम्म फोन अफ थियो । पछि फोन गरेर भनें, ‘त्यसको तपाईंले पुष्टि गर्नुपर्छ । हैन भने यस्तो झुटको खेती नगर्नुस् ।’

पछि उहाँले फेसबुकमा रहेको स्ट्याटस त हटाउनु भएको छ । तर, अझै पनि साथीहरुमा भ्रम कायम नै छ । संगठनलाई एकताबद्ध र सुदृढ गरेर लैजाने हाम्रो प्रयासलाई यतिवेला क्षति पु¥याएको छ ।

हामी प्रेस संगठनका हौं । हामी प्रेस चौतारी र प्रेस सेन्टर होइनौं, अब । विगतका भावनात्मक कुरा उठाएर हामी लड्नु हुँदैन । गणेश बस्नेतले जुन नउठाउनु पर्ने कुरा उठाउनु भयो भनेर म झोक्किएँ, उहाँले त झन् उल्टो हुँदै नभएका, बोल्दै नबोलेका पार्टीका श्रद्धेय अध्यक्ष प्रचण्ड समेतलाई मुछेर संगठनमा मात्र होइन पार्टीका शीर्ष नेतृत्वलाई पनि आशंका गराउने, विवाद सिर्जना गराउने अनैतिक काम गर्नुभयो । हामी आफैं आ–आफ्नो तहका नेता पनि हौं, हामी समाधान बन्ने कोशिश गर्नुपर्छ, समस्या बन्ने र बनाउने होइन । गणेश बस्नेतलाई यो कुरा पटक–पटक भनिरहेको छु । तर, आज उहाँले ममाथि नै कडा प्रहार गर्नुभयो ।

म यो कुरा लेख्ने पक्षमा पनि थिइन । उहाँले झुट्टो भनेर आफ्नै फेसबुकमा लेख्ने इमान्दारिता देखाएको भए मलाई लेख्ने मन थिएन । देशभरिबाट साथीहरुको चिन्ताका साथ फोन आइरहेको छ । विहान र दिनभरि नै एउटै कुराको मैले जवाफ दिइरहनु परेको छ । आधा घण्टा फोन अफ गरेर मैले यो लेखें । देशभरिका साथीहरुको संगठनलाई एकताबद्ध बनाइराख्ने र हामीलाई जिम्मेवार व्यवहार गर्न गरेको आग्रहप्रति म धन्यवाद दिन चाहन्छु । मेरो पुनः प्रतिबद्धता छ, मेरा कारणले प्रेस संगठनलाई विभाजन र बद्नाम हुन दिन्न । जति समय यो संगठनमा रहन्छु म संगठनका नाममा विवादित क्रियाकलाप गर्दिन ।

मसँग कुरै नभएको तर फेसबुकमा मैले महासंघका महासचिव रमेश बिस्टलाई लगाएर वक्तव्य दिन लगाएको जिम्माको कुरा गणेश बस्नेतले गर्नुभएको रहेछ । मैले गणेशजीसँग यो बारेमा कुरै गरेको छैन । जहाँसम्म महासंघका महासचिवसँगको कुरा हो, उहाँसँग पनि गरेको छैन ।

बरु यसबारेमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र महासंघका अध्यक्ष गोविन्द आचार्यसँग कुरा भएको थियो । शुक्रबार विहान सूर्य थापासँग पहिला कुरा भयो । कसैको उजुरीविना तथ्यविना पत्रकारहरुको साझा संगठनका महासचिवले आफ्नो नामै किटेर वक्तव्य दिएको भन्दै सूर्य थापाले प्रतिक्रिया दिनुभएको थियो । महासंघका महासचिवबाट वक्तव्य आएको हो भने पनि यसको नैतिक जिम्मेवारी सभापति गोविन्द आचार्यकै हुन्छ, म गोविन्दजीसँग कुरा गर्छु भनें । त्यसको लगत्तै आचार्यसँग कुरा गरें । काठमाडौं प्रेसको बारेमा कुरा आएपछि वक्तव्य दिने हाम्रो कुरा भएको हो । वक्तव्य दिंदा सूर्य थापाको नाम आएको बारेमा म पनि छलफल गर्दैछु, कमजोरी भएको हो भने आइतवार महासंघका उपलब्ध केन्द्रीय सदस्यहरुसँग बसेर हामी एउटा निश्कर्ष निकाल्छौं भन्नुभयो । बाहिर जे आए पनि मुख्य नेतृत्वको हैसियतले नैतिक जिम्मेवारी लिँदै एउटा निश्कर्ष तपाईंले दिनुपर्छ र महासंघको साझा चरित्र बचाउन कहीं कतैबाट भएका नकारात्मक कामलाई तपाईंले चनाखो हुँदै सतर्कतापूर्वक काम गर्नुपर्छ मैले भनें ।

प्रेस संगठनका प्रदेश तीनका इञ्चार्ज तथा संयोजक विश्वमणि सुवेदी र म हाम्रा संगठनका साथी भुवन कार्कीले खोलेको फर्म हेर्न हिजो दिउँसो गएका थियौं । त्यतिवेला विश्वमणि सुवेदीसँग महासंघको वक्तव्य, महासंघका सभापतिसँग गरेका कुराकानीका बारेमा मैले बताएको थिएँ ।

हाम्रो त्यहाँ छलफलमा भएको कुरा थियो, महासंघको साझा चरित्र बचाउने दायित्व महासंघका पदाधिकारी, केन्द्रीय सदस्यको मात्र नभएर हामी सबैको हो । कहीं कतैबाट मानवीय, नियतका कमजोरी छन् भने पनि महासंघलाई साझा चरित्रको मानेर नै गतिविधि गर्नुपर्छ । अहिले महासंघमा को बाहुल्य छ भनेर हामीले स्वतन्त्र गतिविधि गर्नु हुँदैन । अहिले हामीले गरेका स्वतन्त्र गतिविधिले भोलि नजिर स्थापित गर्छ । चित्त नबुझे पनि तथ्य, सत्यमा टेकेर निश्कर्ष निकाल्नका लागि हामीले सहयोग गर्नुपर्छ । महासंघ कुनै अमुक पार्टीको भातृ संगठन होइन र हुनुहुँदैन । आफ्ना् अनुकूलको काम भएन वा आफ्नो अनुकूलको मात्र काम गर्ने, गराउने तरिका कदापी सही होइन ।

काठमाडौं प्रेसको सामग्री हटाउने जुन काम भयो त्यो सरासर गलत छ । यसको बारेमा प्रेससँग सम्बद्ध संघ÷संस्थाले गम्भीरतापूर्वक लागेर त्यस्तो हर्कत गर्नेहरुमाथि कार्वाही गर्नैपर्छ । बूढी मरी भन्दा पनि काल पल्क्यो भन्ने चिन्ता धेरै छ । काठमाडौं प्रेसले लेखेको विषय झुट होला तर झुट्टा समाचार हुन भने त्यसको छानविन र कार्वाही गर्ने निकाय छन् । तर, चित्त नबुझ्ने वित्तिकै सामग्री नै हटाउने काम जहाँबाट भयो त्यो एकदमै गलत छ ।

विश्वभरि फैलिएको कोरोना भाइरसको महामारीका कारण देश लकडाउनको अवस्थामा छ । यो समवेदनशील घडीमा सरकारले गरेको हर आव्हानलाई जनताबाट समर्थन छ । जनताको साथ लिएर नै सरकारले यो लडाईं जित्दैछ । यो समवेदनशील अवस्थामा जनताको जीवनसँग जोडिएका औषधिसहित स्वास्थ्य सामग्रीको खरिद प्रकरणमा त्रुटी भएको तथ्य वाहिर आएको छ । यो अप्ठ्यारो अवस्थामा पनि आर्थिक लाभ लिन खोज्नेहरु देखिएका छन् । यसलाई यो सरकारले निर्ममतापूर्वक कार्वाही गर्नुपर्छ । सरकारको समर्थनको नाममा गलत क्रियाकलापको समर्थन गर्न सकिदैंन ।

केपी ओलीको नेतृत्वको यो सरकार सुशासन, स्वाधीनतालाई प्राथमिकता दिएर बनेको हो । वहुसंख्यक जनताको विश्वास नेपाल कम्युनिष्ट नेतृत्वको यो सरकारसँग छ । यदि यो सरकार असफल भयो, जनतामा बद्नाम भयो भने अहिलेको प्रणालीमा नै चुनौती हुनसक्छ । त्यसैले सरकार, पार्टीको समर्थन गर्ने भनेर हरेक गलत क्रियाकलापलाई समर्थन गर्न सकिदैंन । रचनात्मक आलोचना गर्न सक्नुपर्छ । यसो भनेर तथ्य बाहिर गएर मनगढन्ते आलोचना चाहिं गर्नु भएन ।

सही र गलत के हो अजेण्डाका आधारमा हामीले जानुपर्छ । साविक प्रेस चौतारी, साविक प्रेस सेन्टर या एमाले र माओवादी केन्द्रको भावनात्मक कुरा गरेर सही र गलतलाई ओझेलमा पारेर बहस गर्ने कुचेष्टा कसैले गर्नुहुँदैन । बहुसंख्यक जनताको मनोविज्ञान, अपेक्षा विपरीत जाँदा हुने नकारात्मक असरबाट हामी सबै प्रभावित हुन्छौंं । किनभने हामी एउटै डुङ्गामा छौं । डुङ्गामा बसेर प्वाल पार्ने हर्कत कमसेकम हामी नेतृत्वमा रहेकाले त गर्नै हुन्न ।

मेरो मेरो जोड, देशभरिका साथीहरुको संगठनको एकता र विकृतिप्रतिको चासो, चिन्ता र सल्लाहका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
लेखक प्रेस संगठन नेपालका संयोजक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।