काठमाडौं । नेपालमा अहिलेसम्म विदेशबाट आएकामा मात्र कोरोना संक्रमण देखिएकोमा पहिलो पटक स्थानीयमा संक्रमण भेटिएको छ ।
सुदूरपश्चिम प्रदेशमा शनिबार तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पुष्टि हुँदा एक जना विदेशबाट नआएका स्थानीय रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि संक्रमित भेटिएका दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीया युवाकी भाउजुमा संक्रमण देखिएको हो । चैत ७ गते फ्लाई ईमरेट्सको ईके ०१५० नम्बरको उडानमा दुबईबाट दिल्ली हु्ँदै आएका युवाम चैत १४ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । फर्किएदेखि घरमै बसेका युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण देखिएको हो ।
ती महिलामा अहिलेसम्म कुनै लक्षण नदेखिएको परिवारका सदस्यहरुले बताएका छन्। संक्रमित युवासँग भेट भएको १२ दिनपछि परिवारका ९ जना सदस्यहरुको बिहीबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो। त्यसमध्ये एकजनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको एम्बुलेन्सले शनिबार बिहानै घरमा पुगेर संक्रमण पहिचान भएकी महिलालाई अस्पताल ल्याएको छ। उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ। संक्रमित युवकको पनि यहीं उपचार भइरहेको छ।
यसैगरी शनिबार नै भारतको उत्तराखण्डबाट आएका ४१ वर्षीय कन्चपुरका व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिएको हो । यस्तै, मुम्बईबाट आएका कैलालीका २१ वर्षीयमा पनि कोरोना पोजेटिभ देखिएको छ । संक्रमित तीनै जनालाई सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।
यसअघि नेपालमा कोभिड–१९ का आयातीय संक्रमितहरु मात्रै देखिएका थिए । यससँगै नेपालमा कोभिड–१९ पोजेटिभको संख्या ९ पुगेको छ ।
कैलालीमा विदेशबाट आएका संक्रमितबाट स्थानीयमा सरेपछि नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । तेस्रो कम्युनिटी ट्रान्समिसन हो, जसले महामारीको चरणमा पुर्याउन भूमिका खेल्छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।