विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय अध्यक्ष टिकाराम पुरीले अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विरुद्ध लड्न सरकारलाई सवैखालको सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
शुक्रबार आफ्नै घरको एकान्तबासबाट भिडियो सन्देश जारी गर्दै अध्यक्ष पुरीले सातै प्रदेशका विद्यालयहरुको सरकारलाई सुचि बुझाई आवश्यकता अनुसार प्रयोग गर्न आग्रह गरेको बताउनुभएको छ ।
प्राथमिक चरणमा १६ हजार ३ सय ५२ वटा कक्षाकोठा क्वारेन्टाइन र आइसोलेसनका लागि छुट्टाइएको प्याब्सन अध्यक्ष पुरीले जनाउनुभएको छ । थप आवश्यकता परे त्यसको पनि तयारी गरिने उहाँको भनाइ छ । यस्तै कोभिड–१९ को संक्रमण भएका, क्वारेन्टाईनमा रहेका र आइसोलेसनमा रहेका ब्यक्तिहरुको उपचार, स्वास्थ्य उपकरण खरिद, औषधि खरिद वा अन्य ब्यस्थापनका लागि आवश्यक आर्थिक सहयोग गर्ने तयारी भएको उहाँले जानकारी दिनुभएको छ ।
भिडियो सन्देशमार्फत प्याब्सनका सरोकारवाला पक्षहरुसँग छलफल भएको भन्दै लकडाउन खुल्नासाथ एकमुष्ठ सरकारले सञ्चालनमा ल्याएको कोषमा रकम जम्मा गर्ने पुरीले बताउनुभयो । यस्तै कोभिड १९ को महामारिका कारण मुलुक लकडाउनमा रहेको र विद्यालयहरु लामो समय बन्द रहेको अवस्थालाई उच्चतम अवसरका रुपमा परिणत गर्न उहाँले अभिभावक र विद्यार्थीहरुलाई आग्रहसमेत गर्नुभएको छ ।
यसबेला घरभित्रका व्यवहारिक शिक्षा, संस्कृति परिम्परा, रितिरिवाज र नैतिकताका विषयमा व्यवहारिक शिक्षा दिन अभिभावकलार्य आग्रह गर्नुभएको छ । यस्तै उहाँले प्याब्सनले दुई संस्थाहरु मिडास एजुकेसन प्रालि र कारखानासँग सम्झौता गरेर एक महिना निःशुल्क इ–शिक्षाको व्यवस्था गरेको जानकारी दिँदै एप्स र सफ्टवेयरको प्रयोग गरि त्यसबाट घरमै बसेर पनि अध्ययन गर्न सक्ने बताउनुभएको छ । उहाँले एसईई र प्लस टुका विद्यार्थीहरुले पनि फाइदा लिनसक्ने भन्दै सरकारले तोकेको लकडाउनलाई पूर्ण पालना गर्दै यो समयलाई उपलब्धिमुलक बनाउन आग्रह गर्नुभएको छ ।